८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्राडा सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेपालको उच्च तथा प्राविधिक शिक्षाका शिखर व्यक्तित्व शर्माको बुधबार निधन भएको थियो।

आर्यघाटमा आयोजित अन्तिम संस्कारमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व. शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राज्यका तर्फबाट श्रद्धाञ्जली अर्पण गरे। सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले उनलाई सलामी अर्पण गरेको थियो।

शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयले शर्माको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको हो। अन्तिम बिदाइका क्रममा शिक्षामन्त्री पोखरेल, मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायत उच्च सरकारी अधिकारीहरू आर्यघाट पुगेका थिए।

यसअघि शिक्षा मन्त्रालय परिसरमा स्व. शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक पुस्तिका राखिएको थियो। मन्त्री पोखरेल, मन्त्रालयका सचिव चुडामणि पौडेल, प्रमुख सल्लाहकार झासहित मन्त्रालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूले शोक पुस्तिकामा हस्ताक्षर गर्दै शर्माको योगदानको स्मरण गरे।

मन्त्री पोखरेलले शर्माको निधनबाट मुलुकको समग्र शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै शोकसन्तप्त परिवार तथा केयू समुदायप्रति समवेदना प्रकट गरे।

सो क्रममा शिक्षामन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्था बनाउने शर्माको अधुरो सपनालाई सरकारले साकार पार्ने घोषणा गरे। ‘स्व. शर्माको सपना पूरा गर्न सरकारले चाँडै संसद्‌मा विधेयक लैजाँदैछ,’ उनले भने, ‘काठमाडौं विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान आवश्यक ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ।’

दुई दशकभन्दा लामो समय काठमाडौं विश्वविद्यालयको नेतृत्व सम्हालेका डा. शर्माले विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तर्राष्ट्रिय छवि भएको शैक्षिक संस्थाका रूपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशकसमेत हुन्। उनले दुर्गम जुम्ला, दोलखाको जिरी र धनकुटासम्म पुगेर नेपालमा प्राविधिक शिक्षाको जग बसालेका थिए।

प्रकाशित: ८ आश्विन २०८३ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App