जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका कैदीमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू त्रिपुरासुन्दरी नगरपालिका-४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा फेला परेका हुन्।
कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका-९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन्।
रोकाय जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने परियार नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय पाएका व्यक्ति हुन्।
यसअघि प्रहरीले फरार भएका अन्य दुई कैदीलाई पनि पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना छन्।
कारागारबाट फरार भएका आठ जनामध्ये चार जना पक्राउ परिसकेको र बाँकी चार जनाको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोष सिंह राठोरले जानकारी दिए।
प्रकाशित: १८ कार्तिक २०८३ ०७:३८ बुधबार





