५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

सुनकोसी–मरिण डाइभर्सनको बाँध निर्माण पुनः सुरु गर्ने तयारी

सरकारले ठेक्का सम्झौता रद्द गरेर पुन: ठेक्का लगाई काम सुचारु गर्ने तयारी गरेको सुनकोसी मरिण डाइभर्सनको बाधनिर्माणस्थल । तस्बिर: अनिल भण्डारी,नागरिक

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत बाँध तथा विद्युत्गृह निर्माणको काम पुनः अघि बढाउने तयारी गरिएको छ। यसअघि ठेक्का रद्द भएपछि आयोजनाले नयाँ निर्माण कम्पनी छनोटका लागि प्रक्रिया अघि बढाएको छ। आयोजनाका अनुसार अबको एक सातापछि बोलपत्र खोलिने र मूल्याङ्कनपछि निर्माण कम्पनी छनोट गरी बाँध निर्माणको काम पुनः सुरु गरिनेछ।

यसअघि सुनकोसी नदीमा बाँध तथा विद्युत्गृह निर्माणको जिम्मा पाएको पटेल–रमण जेभीले सम्झौताअनुसार काम अघि बढाउन नसकेपछि सरकारले उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। निर्माण कार्य अत्यन्त सुस्त भएको तथा अपेक्षित प्रगति हासिल गर्न नसकेको निष्कर्षसहित जलस्रोत तथा सिँचाइ विभागले ठेक्का सम्झौता अन्त्य गरेको हो।

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमका अनुसार नयाँ ठेक्का प्रक्रियाको अन्तिम चरणमा पुगेको छ। “अबको एक सातापछि बोलपत्र खोलिन्छ। त्यसपछि मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट हुनेछ र बाँध निर्माणको काम पुनः सुचारु हुन्छ,” उनले बताए।

आयोजनाका अनुसार पटेल–रमण जेभीसँग २०७९ पुसमा भएको सम्झौताअनुसार चार वर्ष सात महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर सम्झौताको करिब ६१ प्रतिशत समय बितिसक्दा पनि भौतिक प्रगति करिब १० प्रतिशतमा मात्र सीमित भएपछि विभागले ठेक्का रद्द गरेको थियो।

ठेक्का रद्द भएसँगै सरकारले निर्माण कम्पनीले राखेको दुई अर्ब ४० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी तथा एक अर्ब २० करोड रुपैयाँ अग्रिम भुक्तानीसमेत जफत गरिसकेको छ।

आयोजनाअन्तर्गत सुनकोसी नदीमा ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माण गरिनेछ। कुसुमटारबाट १३.३ किलोमिटर लामो सुरुङ भने टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी यसअघि नै निर्माण सम्पन्न भइसकेको छ। बाँध निर्माण सम्पन्न भएपछि सुनकोसीको प्रतिक्षण ६७ घनमिटर (क्युसेक) पानी सुरुङमार्फत मरिण खोलामा खसालिनेछ। त्यसबाट ३१.०७ मेगावाट विद्युत् उत्पादनका साथै मरिण क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य आयोजनाले राखेको छ।

सरकारले आर्थिक वर्ष २०८४/८५ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखे पनि ठेक्का रद्द भएपछि निर्माण तालिका प्रभावित भएको छ। नयाँ निर्माण कम्पनी छनोटसँगै आयोजना पुनः गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ असार २०८३ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App