२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बर्डफ्लुविरुद्ध ताप्लेजुङमा पूर्व सतर्कता, फुङलिङमा पंक्षीजन्य उत्पादनको नमूना संकलन

फुङलिङ बजारमा पक्षी तथा पक्षीजन्य उत्पादनको नमूना संकलन गरिँदै। तस्बिर ः नागरिक

तराईका जिल्लामा बर्डफ्लु देखा पर्न थालेपछि ताप्लेजुङमा पनि सतर्कताका अभियान सुरु गरिएको छ।

जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको निर्देशन अनुसार शनिबार ताप्लेजुङको फुङलिङ बजारमा पक्षी तथा पक्षीजन्य सामग्री बिक्री वितरण गर्ने व्यवसायको अनुगमन गर्दै पक्षी तथा पक्षीजन्य उत्पादनको नमूना संकलन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजकत्व तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको संयोजनमा यहाँका १८ वटा पसलबाट पक्षी तथा पक्षीजन्य उत्पादनको नमूना संकलन गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिए। 

उनका अनुसार संकलन भएको नमूनाको परीक्षण गरी बर्डफ्लु भए/नभएको पत्ता लगाइने छ। ‘परीक्षणको नतिजाका आधारमा थप कार्ययोजना बनाइने छ,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। शुक्रबार मात्र जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले पक्षी तथा पक्षीजन्य उत्पादनको नमूना संकलन गर्ने निर्णय गरेको थियो।

बैठकको निर्णय अनुसार नमूना संकलन गरी प्राप्त नतिजाका आधारमा अब कसरी अघि बढ्ने भन्ने बारेमा कार्ययोजना बनाइने प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बताए। जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले झापा, मोरङ र सुनसरीमा अनियन्त्रित तवरले फैलिएको बर्डफ्लु ताप्लेजुङमा भित्रन नदिन पक्षी र पक्षीजन्य वस्तु भित्रिने चेक पोइन्टमा विशेष निगरानी गर्ने र भित्रिएको पाइए नष्ट गर्ने निर्णय गरेको थियो।

अर्को सूचना नहुन्जेलसम्म झापा,मोरङ र सुनसरी जिल्लाबाट पक्षी तथा पक्षीजन्य वस्तु नल्याउन सरोकारवालालाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सेढाइँले बताए।

प्रकाशित: ५ वैशाख २०८३ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App