नेपालमा बर्ड फ्लुको संक्रमणको जोखिम बढिरहेका बेला भारतसँग सीमा जोडिएका रौतहट र सर्लाहीका विभिन्न नाकाबाट तयारी कुखुरा तथा चल्लाको तस्करी व्यापक मात्रामा भइरहेको व्यवसायीहरूले आरोप लगाएका छन्।
संक्रमण नियन्त्रणका लागि सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य वस्तुको आयातमा निकै कडाइ गर्न सुरक्षा निकायलाइ निर्देशन जारी गरिरहेका बेला खुला सीमाबाट भइरहेको तस्करीले पशु तथा जनस्वास्थ्यमा थप जोखिम निम्त्याएको भन्दै व्यवसायीहरूले तत्काल नियन्त्रणको माग गरेका छन्।
सर्लाहीका पर्सा, त्रिभुवननगर, खुटौना, बलरा, मधुवनी र बहादुरपुरलगायतका सीमावर्ती क्षेत्रबाट राति तथा बिहानको समयमा तयारी कुखुरा र चल्ला नेपाल भित्र्याउने गरिएको व्यवसायीहरूको दाबी छ।
रौतहटका विभिन्न सीमावर्ती नाकाबाट समेत तयारी कुखुरा एवं चल्लाको अवैध ओसारपसार नरोकिएको उनीहरूको भनाइ छ।
रौतहटको औरैया, मठिया जयनगर, रामपुरखाप र नरकटिया लगायतका नाकाबाट राति तथा बिहानको समयमा ठूलो परिमाणमा पशुपन्छी नेपाल भित्रिने गरेको स्थानीय व्यवसायीहरूको आरोप छ। खुला सीमाको फाइदा उठाउँदै निश्चित समय र बाटो प्रयोग गरेर तस्करी हुने गरेको कुखुरा व्यावसायिहरूको दाबी छ।
स्वास्थ्य परीक्षणबिनै कुखुरा भित्रिँदा जोखिम
स्थानीय पशु चिकित्सक रुपेश झाका अनुसार पशुपन्छीको अवैध ओसारपसार नियन्त्रण नहुँदा नेपालमा बर्ड फ्लुजस्ता संक्रामक रोग फैलिने जोखिम दिनदिनै बढदै गएको बताउँछन्।
'क्वारेन्टिन परीक्षण, स्वास्थ्य परीक्षण र आवश्यक निगरानी बिना कुखुरा तथा चल्ला भित्र्याउँदा संक्रमण फैलिने जोखिम रहन्छ,' झाले भने, 'सीमाबाट हुने पशुपन्छीको ओसारपसार लाई नियमन गर्न सम्बन्धित निकायको विशेष निगरानी आवश्यक छ।'
भारतबाट आउने कुखुरा तथा चल्लाको स्वास्थ्य अवस्था, स्रोत र क्वारेन्टिनसम्बन्धी विवरण परीक्षण नगरी बजारसम्म पुग्दा नेपाली कुखुरापालन व्यवसायमा समेत प्रतिकूल असर पर्ने व्यवसायीहरूको भनाइ छ।
व्यवसायी भन्छन्-‘रामपुरखाप, औरैया र बङ्कुलबाटै तस्करी’
रौतहट कुखुरा व्यवसायी संघका अध्यक्ष हरिशङ्कर साहले जिल्लाको पश्चिमी क्षेत्रका रामपुरखाप, औरैया र बङ्कुल नाकाबाट ठूलो परिमाणमा तयारी कुखुरा तथा चल्ला भित्र्याउने गरिएको आरोप लगाए।
नेपाल पत्रकार महासंघ रौतहट शाखामा बुधबार आयोजित पत्रकार सम्मेलनमा साहले सीमा क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन माग गरेका छन्।
तस्करीमा संलग्न व्यक्ति मात्र नभई त्यसलाई संरक्षण गर्ने भनिएका व्यक्तिमाथि समेत निष्पक्ष छानबिन गरी कानुन अनुसार कारबाही गर्नुपर्ने उनि बताउँछन्।
'बर्ड फ्लुको जोखिम बढिरहेका बेला अवैध रूपमा पशुपन्छी भित्र्याउने क्रम रोकिएन भने यसको असर व्यवसायमा मात्र सीमित रहँदैन,' साहले भने, 'पशु स्वास्थ्य, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पर्न सक्छ।'
‘सुरक्षाकर्मीसँग मिलेमतो’ भएको व्यवसायीको आरोप
कुखुरा व्यवसायी राकेश जयसवालले तस्करहरूले निश्चित समय र रुट प्रयोग गरेर कुखुरा तथा चल्ला ओसारपसार गर्ने गरेको आरोप लगाए। उनले सीमामा खटिएका केही सुरक्षाकर्मीसँग तस्करहरूको मिलेमतो रहेको दाबीसमेत गरेका छन्।
यद्यपि, सुरक्षाकर्मीमाथि लगाइएको यस्तो आरोपको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
जयसवालका अनुसार पशु स्वास्थ्य र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका पशुपन्छीको अवैध ओसारपसार खुला रूपमा भइरहनु सुरक्षा तथा नियामक निकायको निगरानी प्रणालीमाथि गम्भीर प्रश्न हो।
उनले जिल्ला प्रशासन, सुरक्षा निकाय र पशु क्वारेन्टिनसँग सम्बन्धित कार्यालयले संयुक्त रूपमा सीमा क्षेत्रमा नियमित अनुगमन गर्नुपर्ने माग गरे।
गौरदेखि चन्द्रनिगाहपुरसम्म पुग्छ तस्करीको कुखुरा
व्यवसायीहरूका अनुसार सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका कुखुरा रौतहट सदरमुकाम गौरदेखि कटहरिया, समनपुर, शिवनगर, चन्द्रनिगाहपुर, गङ्गापिपरालगायतका बजारसम्म पुर्याउने गरिएको छ।
स्रोतका अनुसार भारतबाट अवैध रूपमा ल्याइएका केही कुखुरा काठमाडौंसम्म समेत पुर्याउने गरिएको छ। तस्करीबाट ल्याइएका कुखुरालाई नेपाली बिल बनाएर वैध कारोबारजस्तो देखाउँदै अन्य जिल्लामा पठाउने गरिएको स्रोतको दाबी छ।
यस्ता गतिविधिले सीमामा मात्र नभई देशभित्रको आपूर्ति प्रणाली र बजार अनुगमनमाथि समेत प्रश्न उठाएको व्यवसायी हरूको भनाइ छ।
तस्करी नियन्त्रणमा चुनौती
सीमावर्ती क्षेत्रमा लामो समयदेखि पशुपन्छीको अवैध ओसारपसार हुँदै आए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको स्थानीयको गुनासो छ। तस्करहरूले खुला सीमा, रातिको समय र कमजोर निगरानीको फाइदा उठाउँदै अवैध कारोबारलाई निरन्तरता दिने गरेको उनीहरूको भनाइ छ।
विशेषगरी बर्ड फ्लुजस्ता संक्रामक रोगको जोखिम रहेका बेला पशुपन्छीको अनियन्त्रित ओसारपसार रोक्नु झनै संवेदनशील विषय बनेको छ।
व्यवसायीहरूले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउनुका साथै पशु क्वारेन्टिन, प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरी नियमित अनुगमन गर्न माग गरेका छन्।
भारतबाट कुखुरा तथा कुखुराजन्य वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्ध तथा कडाइको प्रभावकारी कार्यान्वयन नभए अवैध आयातले नेपाली व्यवसायीलाई विस्थापित गर्ने र संक्रमणको जोखिमसमेत बढनाले व्यवसायी चिन्तित छन्।
४६ प्रहरी युनिटका इन्चार्ज फेरिए, तस्करी रोकिएन
रौतहटमा तस्करी बढेपछि प्रहरी प्रधान कार्यालयले गत साउन पहिलो साता जिल्लाका ४६ वटा प्रहरी युनिटका इन्चार्ज एकै पटक परिवर्तन गरेको थियो।
इन्चार्ज फेरिए पनि जिल्लाका मुख्य सीमा नाकाबाट तस्करी नरोकिएको व्यवसायी तथा स्थानीयको आरोप छ।
प्रहरी प्रधान कार्यालयबाट सरुवा भएर आएका इन्चार्जहरू मध्ये गौर भन्सार, मठिया, जयनगर, रामपुरखाप, बङ्कुल, राजपुर लगायतका नाकाको कमान्ड सम्हालेका छन्। तर, यिनै नाकाबाट राति तथा बिहानको समयमा विभिन्न सामानको अवैध ओसारपसार भइरहेको व्यवसायीहरूको दाबी छ।
तस्करी नियन्त्रणका लागि इन्चार्ज परिवर्तन गरिए पनि अवस्था उस्तै रहनुले सुरक्षा निगरानीमाथि प्रश्न उठेको छ। व्यवसायीहरूले तस्करीमा संलग्न व्यक्ति मात्र नभई संरक्षण गर्ने सुरक्षाकर्मीमाथि समेत निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
प्रकाशित: २४ भाद्र २०८३ १३:४८ बुधबार





