२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

शान्तिपूर्ण र सुरक्षित समाजका लागि प्रहरीको एकल प्रयास मात्र पर्याप्त हुँदैन: महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा रूपन्देहीको लुम्बिनीमा सोमबार शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित उक्त पदयात्रा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित विश्व शान्ति दीपबाट सुरु भई अन्तर्राष्ट्रिय सभाहलमा पुगेर समापन भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताए।

उनले सुरक्षा, शान्ति र विकासका चुनौतीहरूलाई परास्त गर्न सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र सरोकारवाला सबै पक्षले एकअर्काको सारथी बनेर काम गर्नुपर्नेमा जोड दिए।

‘समाजमा देखा परेका लागूऔषध दुर्व्यसनी, आत्महत्या र सडक दुर्घटना जस्ता गम्भीर समस्या सम्बोधन गर्न सामूहिक प्रतिबद्धता अपरिहार्य छ,’ महानिरीक्षक कार्कीले भने, ‘यो पदयात्राले हामी सबै एकआपसमा समन्वय गर्दै अघि बढ्न सक्छौं भन्ने सामूहिक प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको छ।’

पदयात्राका माध्यमबाट बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति, सहिष्णुता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न खोजिएको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय सङ्गीत विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको थियो। सो अवसरमा एसिड आक्रमण, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या र बालविवाह जस्ता सामाजिक विषयमा जनचेतनामूलक नाटकहरू प्रदर्शन गरिए।

लागूऔषधको कुलतबाट मुक्त भई समाजमा पुन:स्थापित भएका व्यक्तिहरूले आफ्ना अनुभव सुनाउँदै युवा पुस्तालाई सचेत गराएका थिए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। जसअन्तर्गत बुटवलमा प्रविधि र नवप्रवर्तनलाई जोड्न ‘Hack4Safety’ र लुम्बिनीमा ‘Peace Walk’ सम्पन्न भइसकेको छ।

अब बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा साइबर अपराध र डिजिटल सुरक्षासम्बन्धी बृहत् जनचेतना कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ।

प्रकाशित: १ असार २०८३ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App