तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ। ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ।
आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यो प्याकेजमा ६३ प्रतिशत भौतिक प्रगति भएको भण्डारीले बताए। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण सम्पन्न भएको छ।
आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रििटङ कार्यको सुरुआत गरिएको थिया। गत भदौ महिनामा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको छ। हालसम्म पाँच लाख सात हजार ४४२ घनमिटर कङ्क्रिट सम्पन्न गरिएको छ।
प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताए। विद्युतगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ।
भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युतगृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य भइरहेको छ। कुल एक हजार ४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म एक हजार ४०७.७५ मिटर सम्पन्न भएको छ।
प्याकेज ३ प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी क्षमताको प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भएको छ भने ८० वटा टावर खडा गरिसकिएको छ। सो प्रसारण लाइन ३३ किलोमिटर लामो छ।
चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए। यस प्याकेजको भौतिक प्रगति ८२ प्रतिशत छ। रासस
प्रकाशित: २२ आश्विन २०८३ ०८:१७ बिहीबार


-600x400.jpg)


