बडा दशैंको अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।
दशैंको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ । साँझपख झिलिमिली बत्ती हेर्न, तस्बिर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन आउनेको चहलपहल बढेको छ । ज्ञानेश्वर ओरालोदेखि मैतीदेवी मन्दिर हुँदै पुरानो प्रहरी बिटसम्म सडकमाथि र दायाँबायाँ बिजुलीको झिलीमिली सजाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मैतीदेवी मन्दिरमा दशैंका बेला विशेष चहलपहल हुने गर्दछ। भक्तजनले मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन् ।
प्रकाशित: ३ कार्तिक २०८३ २०:१३ मंगलबार





