अविरल वर्षासँगै उदयपुरका पहाडी भेग र सदरमुकामको यातायात आउजाउ अवरुद्ध भएको छ। वर्षापछिको पहिरो र कटानले खासगरी बिकट पहाडी भेगलाई सदरमुकाम गाईघाटसँग यातायात सम्बन्ध टुटाएको छ भने समथर भेगमा डुबान र कटानले यातायातमा अवरोध ल्याएको हो।
अहिलेसम्म उदयपुरका सबै पहाडी भेगका सडक कच्ची ट्र्याक मात्र खुलेको हुनाले सामान्य वर्षापछिकै भलबाढीले भत्काउने, खाल्डाखुल्डी पार्ने गरेको छ। त्यसैगरी पहिरो जाने, छेउतिर भत्कने र कुनातिर खाल्डाखुल्डी भएर हिलो जम्दा सडक अत्यन्त अप्ठेरो हुने गरेको छ।
खाल्डोमा पानी जमेर हिलाम्य हुँदा दुईपाङ्ग्रे मोटरसाइकल हिँडाउनै नसक्ने अवस्थामा पुगेको छ भने चारपाङ्ग्रेलाई पनि छिचोल्न हम्मे पर्ने गरेको छ। फोरह्विल गाडी भने दुखसुख आउजाउ गर्न सक्ने अवस्थामा रहेको यातायात व्यवसायी बताउँछन्। पहाडी बेल्टका सबै भेगमा कच्ची सडक भलबाढीले खोतल्नुका साथै पहिरोले पुर्ने गर्दा आउजाउ गर्न धेरै हम्मे भइरहेको व्यवसायीको भनाइ छ।
खराब सडकका कारण ३ घण्टामा पार हुने गन्तव्य कम्तीमा दोब्बर ६ घण्टासम्म लाग्ने गरेको छ। गाईघाट–मिचुङबुङ, गाईघाट–रौतामाई (भुट्टार), कटारी–ताप्ली, गाईघाट–रौता, गाईघाट–उदयपुरगढी आउजाउ गर्ने बस, जीप, बोलेरो र मोटरसाइकल यात्रु सडक खराबीका कारण हैरान भइरहेका छन्।
गाईघाट–मिचुङबुङ चल्ने बोलेरो व्यवसायी राजेन्द्र राईले सडक बिग्रेका कारण ठ्याक्कै दोब्बरभन्दा बढी समय लाग्न थालेको बताए। लिमचुङबुङ जाँतेबाट बिहान ७:०० हिँडेर दिउँसो ४:०० बजे मात्र गाईघाट आइपुगेका राईले बताए। उनका अनुसार झण्डै ७० किलोमिटर सडकको हालत धेरै खराब भएकाले समय लागेको हो।
वर्षेनी मर्मत गरे पनि नाला निर्माण नभएका कारण हरेक वर्षामा भल आएर सडक भत्काउने गरेको अर्का बोलेरो व्यवसायी मनोज राईले बताए। लिमचुङबुङ २ तामलीछादेखि गाईघाट ओहोरदोहोर गर्ने बोलेरो व्यवसायी राईका अनुसार गत वैशाख जेठतिर परेको पहिलो वर्षादेखि नै सडकमा समस्या सुरु भएको हो। पहिलो पटक वर्षा हुँदा नै सडक बिग्रेपछि मर्मत नभएका कारण आउजाउ धेरै गाह्रो भइरहेको उनले बताए।
जाँते–गाईघाट आउजाउ गर्ने अर्का बोलेरो व्यवसायी हस्त कटुवालले सडक समस्याका कारण सदरमुकामदेखि गाउँ आउँदा वा गाउँदेखि गाईघाट झर्दा पूरा दिन माया मार्नुपर्ने भएको छ। गाईघाट–जाँते र जाँते–गाईघाट गर्न छिटोमा ६ देखि ९/१० घण्टासम्म लाग्ने गरेको कटुवालले बताए। उकालो र ओरालो मात्र भएको सडक वर्षाको भलले खोलेर ढुङ्गाको ग्यागरै ग्यागर निकालेर यस्तो समस्या भएको हो।
उकालो र ओरालोबाहेक केही तेर्सो सडक पनि हिलोले भरिएर पूरा पाङ्ग्रा फस्ने समस्या हुने गरेको अर्का व्यवसायी प्रेम कार्कीले बताए। सडक खराब भएका कारण फोरह्विलका फोरह्विल नगरे गाडी हिँड्दै नहिँड्ने उनले बताए। उकालो त सकस हुने नै भयो, तेस्रोमा पूरा पाङ्ग्रा डुब्ने गरी हिलो जमेको हुनाले फोरह्विल नलगाई गाडी चलाउनै नसकिने उनले बताए।
गाईघाटदेखि ताप्ली तथा रौतामाई गाउँपालिका आउजाउ गर्ने सडकको पनि हालत उस्तै छ। गाईघाटदेखि रौतामाई गाउँपालिका ७ मुर्कुची बजारसम्म भने मदन भण्डारी लोकमार्गले जोडिएको हुनाले कालोपत्रे सडक सहज छ। तर, मुर्कुचीदेखि रौतामाई गाउँपालिका केन्द्र भुट्टार जोडिएको पुँवारे भन्ज्याङ हुँदै २ नं. वडामा पर्ने भुट्टार पुग्ने दुईवटा सडक दुवै वर्षाले ध्वस्त पारेको छ। अरुबेला डेढ घण्टामा पुगिने मुर्कुची–भुट्टार वर्षाले सडक बिगारेका कारण हिजोआज ६ घण्टासम्म लाग्ने गरेको छ।
त्यस्तै मुर्कुची–पुँवारे हुँदै माझखर्क भएर लिमुचु–बाराहा, मिचुङबुङ–ताप्ली जोडिएका कच्ची सडक सबै वर्षाले क्षति गरेर आउजाउमा समस्या ल्याएको छ। यता गाईघाट–रौता पोखरी हुँदै भुट्टार जोडिने सडक पनि वर्षाले बिगारेर आउजाउमा समस्या आएको यातायात व्यवसायीले बताएका छन्।
समथर क्षेत्रमा पर्ने बेलका मुकाम रामपुरदेखि पहाडी भेगका मैनामैनी, बबला, पोखरे, ओख्रेनी जोड्ने सडकको हालत उस्तै छ। त्यसैगरी चौदण्डीगढी नगरमुकाम बेलटारदेखि सावा कटहरे, बेसारे, चौदण्डीगढी दरवार क्षेत्रलगायत पहाडी भेगका वडा आउजाउ गर्न त्यस्तै समस्या रहेको छ।
समथर क्षेत्रमा भने बाढी र डुबान कटानले यातायात आउजाउमा समस्या निम्तिएको व्यवसायी बताउँछन्। गाईघाटदेखि भित्री वडा र बस्ती टोलले जोडिएका दमौटी, श्रीपुर, बगाहा, जलजले खण्डका सडक हिलो र डुबानले गाडी चल्न नसक्ने अवस्थामा पुगेका छन्।
स्थानीय तहले पनि यस्ता सडकको तत्काल मर्मत गर्न सक्ने अवस्थामा छैन। भर्खरै असार मसान्त सकिएको हुनाले सूत्र बन्द हुँदा बैंक खाता सञ्चालन नभई आर्थिक कारोबार गर्न नमिल्ने भएकाले तत्काल खर्च गर्न नसक्ने समस्याले स्थानीय सरकारलाई सडक मर्मतमा अवरोध भएको जनप्रतिनिधि बताउँछन्।
प्रकाशित: १८ श्रावण २०८२ १६:०९ आइतबार





