राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक बाढीपहिरोले क्षतविक्षत बनेपछि चीनबाट दसैं-तिहार लक्षित सामान बोकेर आएका १५० भन्दा बढी कन्टेनर र करिब २०० विद्युतीय सवारी साधन (ईभी) बाटोमै रोकिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार लोमान्थाङ गाउँपालिका-४ न्हेचुङस्थित भन्सार यार्डमा रोकिएका १५० भन्दा बढी कन्टेनरमध्ये ९० प्रतिशतको जाँचपास भइसकेको छ।
यता, तल झर्न नसकेका १०० भन्दा बढी नयाँ विद्युतीय सवारी साधन पाँच दिनदेखि जोमसोम बसपार्कमा अलपत्र परेको सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमले जनाएको छ।
तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्र वैकल्पिक मार्ग बनेको कोरला नाकाबाट मुस्ताङ भन्सारले दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो।
दसैं लक्षित तयारी पोशाक, फलफूल, दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स र गाडीहरू सडकमै रोकिँदा राज्यको राजस्व र चाडपर्वको बजार आपूर्ति दुवै नराम्ररी प्रभावित भएको छ।
यसैबीच, पाँच दिनदेखि अवरुद्ध जोमसोम-कोरला खण्डको पहिरो पन्छाएर बुधबारदेखि आवागमन सुचारु गरिएको छ। स्थानीय तह र सुरक्षा निकायको समन्वयमा माथिल्लो खण्ड खुलाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
तर, तल्लो म्याग्दी खण्डको अवरोध भने अझै कायमै छ। बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गादेखि कोरलासम्म ४६ स्थानमा बाढीपहिरोले क्षति पुर्याएको थियो।
हाल मालढुङ्गा-गलेश्वर र दाना-कोरला खण्ड खुले पनि म्याग्दीको रघुगंगा, बैसरी र सिरुवारी क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त भएकाले मर्मत कार्य निकै चुनौतीपूर्ण बनेको छ।
म्याग्दी खण्डअन्तर्गत तातोपानी-पोखरेबगर जोड्ने पक्की पुलको पहुँच मार्ग (एप्रोच) बाढीले बगाएको छ।
खामभित्ता, जलथले, भीरकाँटे र महभीरमा सडक अवरुद्ध रहेकाले पर्याप्त उपकरण र जनशक्ति अभावका बीच सडक खुलाउन अझै केही समय लाग्ने आयोजना प्रमुख शर्माले बताए।
प्रकाशित: १५ आश्विन २०८३ २०:४४ बिहीबार

