खोटाङबाट भारी मात्रामा प्रतिबन्धित गाँजा बरामद भएको छ। ट्रकको फल्स बटममा लुकाएर अज्ञातस्थलतर्फ लाने तयारी भइरहेको अवस्थामा गस्तीमा निस्केको प्रहरीले गाँजा बरामद गरेको हो।
गस्तीको क्रममा शुक्रबार बिहान सडक छेउमा रोकिराखेको ट्रकमा खानतलासी गर्दा एक हजार ३ सय २५ किलो गाँजा फेला परेको खोटाङ प्रहरीले जनाएको छ। गस्ती निस्केको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेत कमान्डको टोलीले मध्य पहाडी लोक मार्गअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित सडकबाट गाँजा नियन्त्रणमा लिएको हो।
सडक छेउमा रोकिराखेको प्र १-०२-००२ ख ०८३ नम्बरको ट्रकमा चालक नभएको भेटिएपछि शंका लागेर चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका इन्स्पेक्टर बस्नेतका अनुसार चालक बस्ने सिट र पछाडिको डालाबिच फल्स बटममा लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको हो।
फल्स बटममा नदेखिने गोप्य ठाउँ बनाएर लुकाइराखेको अवस्थामा गाँजा भेटिएपछि ट्रकसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर दिक्तेल ल्याएर राखिएको छ। गाँजा कसले कहाँबाट कता लान खोजेको हो भन्ने कुरा खुलिसकेको छैन।
बरामद गाँजा शुक्रबार दिउँसो प्रहरीले सार्वजनिक गर्दै अनुसन्धान सुरु भइसकेको जनाएको छ। चालक फरार रहेकाले ट्रक कसको हो भन्ने कुरा नखुलेको र फरार चालकको खोजी भइरहेको प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताएका छन्।
प्रकाशित: २३ श्रावण २०८३ १३:१७ शनिबार





