देशभरका न्यायिक समितिमा उजुरीका चाङ भएको खबर सुनिँदै आएको हो। तर सिन्धुलीको घ्यालेख गाउँपालिकामा वर्षभरि एउटा मात्रै उजुरी परेको छ।
सिन्धुलीको दुर्गम पालिकामध्ये पर्ने घ्यालेखको न्यायिक समितिमा उजुरी छैन भन्दा अचम्म लाग्न सक्छ। तर एक आर्थिक वर्षमा एउटा मात्रै उजुरी दर्ता भएको हो। यही जेठ २१ गते बिहीबार एउटा जग्गासम्बन्धी उजुरी आएको पालिकाले जनाएको छ।
विगतमा घ्यालेखमा पनि उजुरी न्यायिक समितिमा आउने गरेको स्मरण गर्दै गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शंकरमान भोलनले गत सालदेखि धेरै उजुरी नपरेको जानकारी दिए। गत आर्थिक वर्षमा घ्यालेखको न्यायिक समितिमा दुई ओटा उजुरी परेको र यस वर्षको हालसम्म एउटा मात्रै उजुरी परेको पालिकाले जनाएको छ।
जनचेतनाको स्तर वृद्धि हुँदै जादाँ गाउँमा झैझगडा कम भएको र उजुरी कम परेको उपाध्यक्ष भोलनको भनाइ छ। गाउँमा घरेलु मदिरा पिउनेको संख्यामा पनि कमी आएकाले झगडा हुन छाडेको उनको तर्क छ। 'अहिलेको नयाँ पुस्ता सचेत छ, मदिराबाट अलि टाढै बस्न चाहन्छन्, जसले गर्दा झगडा छैन त्यसैले उजुरी परेको छैन,' उनले नागरिकसँग भने।
उजुरी नआए पनि न्यायिक समितिले कानुन विधि नियमावली बनाउने काम गरिरहेको न्यायिक सहजकर्ता प्रकाश खतिवडा बताउँछन्। 'गाउँगाउँ, वडामै मेलमिलापकर्ताहरू छन्, त्यसैले पनि पालिकासम्म उजुरी कमै आएका छन्,' उनले भने, 'हामीकहाँ मात्रै नभएर प्रहरी अदालतमा पनि घ्यालेख गाउँपालिकाको उजुरी कमै छ।'
प्रकाशित: २२ जेष्ठ २०८३ ११:१३ शुक्रबार





