१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

१९.८३ प्रतिशत मात्रै काम, मंगलसेन जोड्ने सडकको ठेक्का तोडियो

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण निर्धारित समयमा सम्पन्न नगरेपछि ठेक्का तोडिएको छ। पटक–पटक ताकेता गर्दा पनि निर्माणले गति नलिएपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो।

२०७९ वैशाख १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक २०८२ वैशाख १६ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। निर्धारित समयमा काम नसकिएपछि २०८३ वैशाख १६ गतेसम्म म्याद थप गरिए पनि निर्माण पूरा हुन सकेन। ठेक्का तोड्दासम्म सडकको भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै पुगेको छ।

१० किलोमिटर लामो सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। ठेक्का तोडिएपछि सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।

यसैबीच, सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि अलपत्र परेका सडक तथा पुल निर्माणसम्बन्धी थप पाँचसहित छवटा रुग्ण ठेक्का अन्त्य गरेको छ। सन् २०७६ देखि निर्माण अघि बढ्न नसकेका योजनाका ठेक्का तोडिएको कार्यालयले जनाएको छ।

ठेक्का अन्त्य गरिएका अन्य योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन्।

प्रकाशित: ११ कार्तिक २०८३ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App