शनिबार राति परेको चट्याङ लागेर उदयपुरका एक व्यक्ति गम्भीर घाइते भएका छन्। हावाहुरी र वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका–१० बाँसबारीका ५५ वर्षीय शेरबहादुर कार्की घाईते भएको स्थानीयले जनाएका छन्।
छिमेकी स्थानीय नरबहादुर कार्कीका अनुसार चट्याङले कार्कीको दुवै हात डढेर गम्भीर घाइते भएका छन्। घरमै बसिरहेका कार्कीलाई चट्याङ लागेर ओहोरो बनाएको हो भने घरमा रहेका लत्ताकपडासमेत जलेर नष्ट भएको छ। चट्याङकै कारण खोरमा रहेका केही बाख्रासमेत मरेको छ।
घाइते कार्कीलाई राति नै जिल्ला अस्पताल उदयपुर लगेर उपचार गराईरहेको र रिफर गर्नुपर्ने अवस्था आउनसक्ने बताइएको छ। चट्याङले के कति धनसम्पतिको क्षति भयो भन्ने यकिन भइसकेको छैन।
घट्नाबारे जानकारी गराइएपछि शनिबार विहान जिल्ला प्रहरी कार्यालयबाट टोली खटेर घट्नास्थलको विषयमा अनुसन्धान भइरहेको स्थानीयले बताएका छन्। प्रहरीले घाइतेको उपचार भईरहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: ७ चैत्र २०८२ ११:१७ शनिबार





