खोटाङमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
बाँदर खेद्न पड्काएको भरुवा बन्दुकको गोली लागेर सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका श्यामबहादुर तामाङको मृत्यु भएको हो।
प्रहरीका अनुसार मंगलबार दिउँसो अन्नबाली खान आएको बाँदर धपाउन स्थानीय ४४ वर्षीय भलबहादुर तामाङले चलाएको बन्दुकको गोली लागेर ५४ वर्षीय श्याम बहादुरको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङले घटनास्थलको कानुनी प्रक्रिया अघि बढाएको छ।
अस्थायी प्रहरी पोस्ट खार्मीको टोलीले घटनास्थलबाट बन्दुकसहित घटनामा संलग्न भएको आरोपमा भलबहादुरलाई नियन्त्रणमा लिइसकेको छ।
जिल्ला प्रहरी कार्यालयका निरीक्षक निराजन बस्नेत नेतृत्वको ६ सदस्यीय टोली घटनास्थलमा भर्खरै पुगेको र कानुनी प्रक्रिया पुरा गरेर शव पोस्टमार्टमका लागि दिक्तेल ल्याउने तयारी भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रकाशित: ३० भाद्र २०८३ १८:१३ मंगलबार





