११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

सुखका दिन आउँदै थिए, भोटेकोशीले छोरा र भाइ नै खोसिदियो

गत भदौ १० गते भोटेकोशी नदीमा उर्लिएको विनाशकारी बाढीले धेरैको मन रुवाएको छ। कहिल्यै नमेटिने घाउ बनाएको छ। हजारौं घरपरिवारमा शून्यता र लाखौं मनमा चोट पुर्‍याएको छ। त्यो कालो दिनलाई सायदै सिङ्गो मुलुकले भुल्न सक्ला।

समयले विपद्को दिनलाई क्यालेन्डरको पानामा पछाडि धकेल्दै लगे पनि पीडितको मनमा भने घाउ अझै आलो छ। रसुवाका नेकपा नेता माधव लामिछानेका लागि पनि भदौ १० गते जीवनकै सबैभन्दा गह्रौं भारी बन्यो।

प्रकृतिले उनीमाथि यस्तो बज्रपात गरिदियो, परिवारको जग नै हल्लाइदियो। उनले त्यो एकै दिन, एउटै विपत्तिमा आफ्ना जेठा छोरा र भरोसायोग्य भाइलाई सधैंका लागि गुमाए।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र काम गरिरहेका छोरा समिर लामिछाने र चिलिमे भन्सार क्षेत्रबाट भेलमा परेका भाइ बासुदेव लामिछाने ‘विश्वास’ बेपत्ता भएको ठ्याक्कै एक महिना बितिसकेको छ।

तर, यो एक महिनामा माधवको मन एक पल पनि शान्त हुन सकेको छैन। छिनछिनमै बल्झिने सम्झनाहरूले उनलाई विक्षिप्त बनाइरहेको छ।

बाढीमा समिर बेपत्ता भएको महिना दिन पुगेको दिन लामिछानेले छोराको सम्झना गर्दै आफूहरूले अझै पनि उनको मृत्यु स्वीकार गर्न नसकेको सुनाउँछन्।

‘बाबु, तिमी हामीबाट सदाका लागि छुटेको आज एक महिना भइसकेछ,’ मनको बाँध फुटाउँदै उनी भन्छन्, ‘जीवनको अर्थ खोज्दै अथक मेहनतका साथ काम गरेर आफूलाई एक काबिल इलेक्ट्रिकल इन्जिनियरका रूपमा विकास गर्दै गर्दा २९ वर्षको उमेरमा भोटेकोशी बाढीमा तिमी बेपत्ता भयौं। हामीलाई अझै विश्वास भइसकेको छैन कि तिमी हामीसँग छैनौं। तर यथार्थ ....।’

समिरले आफ्नो सम्पूर्ण योग्यता र ऊर्जा रसुवागढी जलविद्युत् कम्पनीलाई सुम्पिएका थिए। तर, आयोजनाको त्यही सुरुङ परिवारका लागि भने कहिल्यै नटुंगिने शोकको कारण बनिदियो।

अभाव र गरिबीसँग पौँठेजोरी खेल्दै बाबुआमाको मायामा हुर्किएका समिरले आफ्नै पौरखले इन्जिनियरिङ पढेर परिवारको सुखका दिन सुरु गरेका थिए। परिवारले अभावबाट पार पाएर चैनको सास फेर्न थालिरहेकै बेला भोटेकोशीको लेदोसहितको बाढीले सबै सपना बगाइदियो।

त्यो भयानक विपद्का बेला सुरुङभित्र थुनिएका छोराको सकुशल उद्धारका लागि सरकार र प्रशासनसँग अनुनय-विनय गर्दा उल्टै सामाजिक सञ्जालमा लाञ्छना र गाली सहनुपरेको तितो अनुभव पनि लामिछानेसँग छ।

आफूले भोगेको त्यो पीडा र अपमानको हिसाब मनमै सुरक्षित राखेको उनी बताउँछन्।

लामिछाने छोराको अकल्पनीय वियोगलाई केवल प्राकृतिक दुर्घटना मान्न तयार छैनन्। उनी यसलाई महाशक्ति राष्ट्रहरूको गैरजिम्मेवारी र विश्वव्यापी जलवायु संकटको प्रत्यक्ष परिणाम ठान्छन्।

‘म अहिले पनि भन्छु, तिम्रो हत्या भएको हो,’ उनी भन्छन्, ‘कार्बन उत्सर्जन गर्ने महाशक्ति राष्ट्रहरू, जसका कारण पैदा भएको जलवायु परिवर्तन र त्यसको कारण आएको बाढी नै तिम्रो मृत्युको कारण हो।’

उद्धार कार्यमा राज्य संयन्त्रले देखाएको लापरबाहीका कारण सुरुङभित्र समिरजस्ता कैयौं युवाहरूले अकालमा तड्पिएर ज्यान गुमाउनुपरेको उनको आरोप छ। जलवायु परिवर्तनको मारमा परेका विपन्न मुलुकका नागरिकलाई क्षतिपूर्ति दिलाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा दह्रोसँग आवाज उठाउनुपर्ने उनको माग छ।

उनी भन्छन्, ‘कमजोर देशमा जन्मनुको पीडा आज हामी भोग्दैछौं।’

समिरसँग विदेश पलायन हुने धेरै अवसरहरू थिए। तर, उनले मातृभूमिमै बसेर काम गर्ने बाटो रोजेका थिए। छोराको त्यही निर्णय सम्झिँदा अहिले माधवलाई आत्मग्लानि हुन्छ।

‘सायद यसमा मेरो वैचारिक प्रभाव पनि थियो होला। तर मलाई अहिले यही सम्झेर भित्रभित्रै पीडाबोध हुँदैछ कि कतै छोरो मेरै कारण त ..... ?’ उनी प्रश्न गर्छन्।

आगामी दिनमा यस्ता प्राकृतिक विपद् र जलवायु परिवर्तनका असरविरुद्ध निरन्तर खबरदारी गरिरहनु नै आफ्ना दिवंगत छोराप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको संकल्प छ।

‘परिवारको दरिलो खम्बा नै ढल्यो’

छोराको वियोगको घाउमा खाटो बस्न नपाउँदै लामिछानेले आफ्ना सहोदर भाइ बासुदेव लामिछाने ‘विश्वास’ लाई सम्झिएर आँसु खसाल्छन्।

रसुवाको उत्तरगया गाउँपालिका-४ भलायोडाँडा चौरखर्कका बासिन्दा बासुलाई भदौ १० गतेको भोटेकोशीको भीषण बाढीले चिलिमे भन्सार क्षेत्रबाट बगाएको थियो।

काठमाडौंमा अध्ययन गरिरहेका बासु विद्यार्थी राजनीतिमा सक्रिय दाजु माधवको प्रेरणाबाटै तत्कालीन माओवादी आन्दोलनप्रति आकर्षित भएका थिए। २०५७ सालतिर औपचारिक पढाइलाई बीचमै छाडेर उनी भूमिगत जनयुद्धमा होमिएका थिए।

जनमुक्ति सेनामा प्रवेश गरेका बासु युद्धकालमा लडाकु मात्र नभई घाइतेहरूको ज्यान जोगाउने कुशल स्वास्थ्यकर्मीका रूपमा परिचित थिए।

दाजु लामिछाने भाइको विगत कोट्याउँदै भन्छन्, ‘गोली लागेका घाइते लडाकुको प्राथमिक उपचारदेखि जटिल अपरेसनसम्मका काममा ऊ हरपल खटिन्थ्यो।’

जनमुक्ति सेनामा रहँदा बासुले करिब २७/२८ वटा साना-ठूला लडाइँहरूमा युद्ध चिकित्सकका रूपमा घाइतेहरूको सेवा गरेका थिए। उनले आफ्ना सहयोद्धाको मात्र होइन, युद्ध मैदानमा घाइते भेटिएका तत्कालीन विद्रोही पक्षका सुरक्षाकर्मीहरूको समेत भेदभाव नगरी उपचार गरेर जीवन बचाएका थिए।

शान्ति प्रक्रियापछि जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश लिएर घर फर्किंदा बासुको हातमा सरकारले दिएको सामान्य रकमबाहेक केही थिएन। त्यसपछि राजनीतिलाई पृष्ठभूमिमा राखेर व्यवसाय रोजेका उनी रसुवामा एक सफल र इमानदार व्यवसायीका रूपमा स्थापित हुँदै थिए।

‘तर आज तेरो जीवनको गति नै सधैँका लागि रोकियो। अब तँ मसँग कहिल्यै नभेट्ने गरी गइसकिस्,’ उनी भक्कानिन्छन्।

भोटेकोशीमा पानीको सतह बढेको खबर पाउनासाथ फोन गर्दा भाइको मोबाइल स्विच अफ भइसकेको थियो। पटकपटकको प्रयास असफल भएपछि उनको मनमा चिसो पस्यो। त्यसपछि उनी तत्काल धुन्चेतर्फ लागे।

अस्पताल र बाटोमा भेटिएका घाइतेहरूको अनुहार हेर्दै भाइ र छोराको खोजीमा भौंतारिएका लामिछाने त्यो कहालीलाग्दो क्षण सम्झन्छन्, ‘तिमीहरूलाई त भोटेकोशीको त्यो हिमसुनामीले हामीले कहिल्यै नभेट्ने गरी लगिसकेको रहेछ।’

दाजुभाइबीचको सम्बन्ध निकै आत्मीय थियो। जीवनका जटिल पारिवारिक र व्यावहारिक निर्णय लिनुपर्दा उनी भाइसँगै सल्लाह गर्थे। उनीहरूबीच कहिल्यै ठूलो स्वरमा भनाभन वा विवाद भएको थिएन।

लामिछाने परिवारका लागि प्राकृतिक विपत्ति नौलो भने होइन। २०७२ सालको विनाशकारी भूकम्पले उनका कान्छा भाइलाई खोसेको थियो। त्यो पुरानो घाउ सेलाउन नपाउँदै भोटेकोशीले अर्को खम्बा ढालिदियो।

‘भूकम्पले कान्छो लग्यो, तँ नै परिवारको दरिलो खम्बा बनेर उभिएको थिइस्। तँ थिइस् र परिवारलाई आडभरोसा थियो। अब त्यो आडभरोसा पनि सकियो,’ उनले पीडा पोखे।

अहिले माधवको काँधमा तीनवटा परिवार सम्हाल्नुपर्ने गह्रौं जिम्मेवारी आइपरेको छ। ८६ वर्षीय वृद्ध बुबा, सन्तानको वियोगमा छट्पटिएकी बुहारी र परिवारका अन्य सदस्यहरूको रोदनले घर भरिएको छ।

‘८६ वर्षीय बुबालाई सम्झाउन जाऊँ कि छोराको वियोगमा परेकी भाउजूलाई सम्झाऊँ ? धित मर्ने गरी रुन मन लागेर पनि रुन सकिरहेको छैन,’ उनी सुनाउँछन्।

भाइ गुमाएपछि सम्पूर्ण परिवारको संरक्षण कसरी गर्ने भन्ने चिन्ताले उनलाई मानसिक रूपमा थकाएको छ। तैपनि आफ्नो क्षमताले भ्याएसम्म भाइको परिवार र बालबच्चालाई संरक्षण दिने बाचा गर्दै उनले भनेका छन्, ‘भावपूर्ण श्रद्धाञ्जली प्यारो भाइ।’

भोटेकोशीको त्यो विनाशकारी बाढीमा समिर र बासुसहित जलविद्युत् आयोजनामा कार्यरत अन्य धेरै श्रमिक, प्राविधिक तथा स्थानीयवासीहरू बेपत्ता भएका छन्।

लामिछानेले बाढीमा ज्यान गुमाउने र बेपत्ता हुने समिरलगायत सबै नागरिकप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आफ्नो लडाइँ जारी रहने बताए।

प्रकाशित: १० आश्विन २०८३ १६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App