२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

स्थानीय उत्पादनको 'पोषण प्रदर्शनी' नराकोटमा

जुम्लाको सिँजा गाउँपालिका-३ नराकोट बजारमा शनिबार केवल बजारको भीडमा सीमित रहेन। गाउँपालिका स्वास्थ्य शाखाको नेतृत्व तथा प्लान नेपाल र पेस नेपालको सहकार्यमा आयोजित एकदिने पोषण प्रदर्शनी मेला गाउँलाई विज्ञान, संस्कृति र अर्गानिक जीवनशैलीको संयुक्त कक्षामा रूपान्तरित गर्यो।  

सैद्धान्तिक नारा होइन, घर-घरको भान्सामा बस्न सक्ने व्यवहारिक पोषण-क्रान्ति यहीँबाट सुरु भएको अनुभूति अभिभावकदेखि स्वास्थ्यकर्मी सबैले साझा गरे।जौ, फापर, गहुँ, कागुनो, चिनो, कोदो, मार्सी चामल, सिमी, स्थानीय सागसब्जी, फलफूल र जडीबुटी,जुम्लाका घरभित्र सहजै उब्जने यी अर्गानिक खाद्यवस्तु मेलामा वैज्ञानिक पोषण मोडेलका रूपमा पुनर्परिभाषित भए। 

No description available.

 

आकर्षक आठ स्टलमार्फत ऊर्जा-सन्तुलन, जंक फुडका असर, मधुमेह–मैत्री भोजन, गर्भवती र सुत्केरीका आहार मापदण्ड, बालबालिकाका अनिवार्य पोषक तत्व, पोषण थाली र बिहानको स्वस्थ खानेकुरा जस्ता विषय व्यवहारिक रूपमा प्रस्तुत गरिए।

स्टलमा स्थानीय अन्नको सूक्ष्म पोषणमान, पकाउने सही तापक्रम, उमेरअनुसार मात्रा व्यवस्थापन र घरमै उपलब्ध सामग्रीबाट सरल तर वैज्ञानिक मेनु निर्माण गर्ने अभ्यासले सहभागीलाई प्रत्यक्ष सीप सिकाइयो।  

यता स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले कुपोषणको मूल समस्या पोषक तत्वको अभाव होइन, असन्तुलित संयोजन भएको बताए। ‘पोषण कार्यक्रम होइन, भान्सा र अभिभावकको बुझाइमा हुने परिवर्तन हो,’ रोकायाले भने।  

No description available.

जुम्लामा अर्गानिक उत्पादन प्रशस्त भए पनि पकाउने तरिका र संयोजन वैज्ञानिक नहुँदा पोषण चक्र अधूरो रहने उनको तर्क छ।

यस्तै गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले कुपोषणलाई प्रमुख सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा व्याख्या गर्दै भने,‘हामीकहाँ उत्पादन धेरै छ। तर, त्यही उत्पादनलाई पोषिलो परिकारमा रूपान्तरित गर्न नसक्दा बालबालिकाको वजन, उचाइ र विकासमा असमानता प्रदेशमा नै उच्च देखिन्छ। नराकोटको यो मेला उत्पादनदेखि परिकारसम्मको रूपान्तरण सिकाउने महत्त्वपूर्ण प्लेटफर्म हो।’

मेलामा अभिभावक, महिला समूह र स्वास्थ्य स्वयंसेविकाको उत्साह विशेष थियो।बालबालिकाका लागि मनपर्ने तर पोषक खाजा, ‘जुम्ली पोषण थाली’, बुढापाकाका लागि मधुमेह-मैत्री भोजनसमेत सिकाइएको सहभागीको प्रतिक्रिया थियो।

No description available.

‘पहिले हामी जंक फुड छोडाउन सकिन्थेनौँ। अब स्थानीय अन्नबाटै स्वादिलो अनि स्वास्थ्यदायी परिकार बनाउने सीप पायौं,’ सहभागी महिलाहरूले बताए।

आयोजकका अनुसार मेला केवल एकदिने कार्यक्रम होइन, पोषणलाई सांस्कृतिक, आर्थिक र सामाजिक पहिचानसँग जोड्ने दीर्घकालीन समुदाय-आधारित रूपान्तरणको सुरुवात हो। स्थानीय अर्गानिक उत्पादनलाई प्राथमिकता दिने र वैज्ञानिक पकाउने अभ्यासलाई दैनिकीमा उतार्ने प्रतिबद्धता समुदायमै जन्मिएको उनीहरूको दाबी छ।

No description available.

प्रकाशित: १३ मंसिर २०८२ २०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App