ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा पुगेर वैवाहिक जीवनमा बाँधिनेहरूको संख्या बढ्दै गएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शुक्रबार मोरङको सुन्दरहरैंचाका भुवन ढकाल र रसुवाकी सरस्वती गजुरेल तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा पुगेर वैवाहिक बन्धनमा बाँधिएका छन्।
यस वर्ष मात्र विवाहको शुभसाइतमा ६ जोडीले पाथीभरा मन्दिरबाटै विवाह गरेको महतले जानकारी दिए। ‘यकिन तथ्याङ्क त छैन, तर वर्षमा कम्तिमा १५ जोडीले पाथीभरा मन्दिरबाटै विवाह गर्नु भएको छ,’ महतले भने।
पाथीभरालाई विश्वास र आस्थाकी देवी मानिन्छ। मागेको वर पाइने जनश्रुति रहेको पाथीभरा देवीलाई भक्तजनले मनोकामना पूरा गर्ने र कठिनाइ हटाउने देवीका रूपमा पुज्ने गरेका छन्। पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ।
प्रकाशित: ४ मंसिर २०८३ १३:३२ शुक्रबार





