नेपाल रिपब्लिक मिडिया (एनआरएम) ले कान्तिपुर दैनिक, दी काठमाडौं पोष्ट र त्यसका अनलाइन संस्करणमा आफ्नो संस्थाका बारेमा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कान्तिपुर र काठमाडौं पोष्टको अनलाइन संस्करणमा गत २ वैशाख र ३ वैशाखमा पत्रिकामा प्रकाशित ‘अस्तित्व रक्षाको लडाइँमा मिडिया, महिनौंदेखि तलबबिहीन पत्रकार’ शीर्षकको समाचारमा गरिएका दाबीहरू निराधार र यथार्थहीन रहेको भन्दै एनआरएमले आपत्ति जनाएको हो। समाचारले प्रतिस्पर्धी सञ्चार माध्यमको छवि बिगार्ने उद्देश्य राखेको दाबी रिपब्लिक मिडियाले गरेको छ।
समाचारमा नेपाल रिपब्लिक मिडियाले कोभिड-१९ को समयमा कर्मचारीको तलब र व्यवसाय निरन्तरताका लागि २० करोड रुपैयाँ सहुलियतपूर्ण सरकारी ऋण लिएको भनी गरिएको दाबीलाई संस्थाले खण्डन गरेको छ।
एनआरएमले बुधबार असहमति पत्र जारी गर्दै भनेको छ, ‘हामीले ६ जुन २०२१ मा लिएको ७ करोड रुपैयाँ ऋणमध्ये पहिलो वर्ष ५ प्रतिशत, दोस्रो वर्ष ६ प्रतिशत र त्यसपछि बेसरेटमा दुई प्रतिशत प्रिमियम थप गरी ब्याज लिइएको छ। तथ्यतथ्यांकमा फरक पारी प्रतिस्पर्धी सञ्चार माध्यममाथि आक्रमण गर्ने प्रयासका रूपमा हामीले यसलाई लिएका छौँ। अहिले मिडियामाथि चौतर्फी आक्रमण भइरहेको र आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा प्रतिस्पर्धी सञ्चारमाध्यमको साख गिराउने उद्देश्य प्रेरित भई यस्तो सामग्री सार्वजनिक गरिएको हो भन्न हामी बाध्य भएका छौँ।’
त्यसैगरी, पत्रकारहरूले ६ महिनादेखि तलब नपाएको र हाकिमको नजिक हुनेले मात्र छिट्टै पैसा पाउने भनी समाचारमा उल्लेख गरिएको विषयमा पनि एनआरएमले असहमति जनाएको छ। संस्थाले विशेष गरी ६ महिनासम्म पारिश्रमिक नपाएको भन्ने दाबी गलत भएको बताएको छ। पालैपालो भुक्तानी गर्दा बरु उपल्लो स्तरमा कार्यरत सहकर्मीले भन्दा तल्लो तहका कर्मचारीले पहिले पारिश्रमिक पाइरहेको अवस्था रहेको उसले जानकारी दिएको छ।
आजको विषम आर्थिक स्थितिमा सबै क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै संस्थाले १८ वर्षदेखि सहकर्मीहरूको विश्वासकै कारण आफूहरू क्रियाशील रहेको उल्लेख गरेको छ। ‘हाकिमको नजिक भइयो भने छिट्टै पाइयो, होइन भने रोकिन्छ’ जस्ता कुरालाई मनगढन्ते कथाको संज्ञा दिँदै रिपब्लिक मिडियाले आफ्नै उद्योगभित्रका समाचार लेख्दा तथ्यपरक हुन आग्रह गरेको छ।
उसले भनेको छ, ‘हामीले आफ्ना सहकर्मी कर्मचारीलाई काम गरेको पारिश्रमिक नियमित भुक्तानी नगरेको भए यो संस्था विगत १८ वर्षदेखि क्रियाशील हुने थिएन। पारिश्रमिक केही समय ढिला हुँदा पनि हामीमाथि विश्वास गरेर सहकर्मीहरूले काम गरिरहनु भएकोप्रति हामी कृतज्ञ छौँ। तर, ‘हाकिमको नजिक भइयो भने छिट्टै पाइयो, होइन भने रोकिन्छ’ जस्ता मनगढन्ते कथा बुनेर तथ्यपरक समाचार लेखिँदैन। आफ्नै सञ्चार उद्योगभित्रको समाचार लेख्दा कम्तिमा तथ्यपरक हुन हामी आग्रह गर्छौँ।’
कम्पनीलाई निजीबाट सार्वजनिक बनाउँदा नियामक निकायको नियम पालना गरिएको र राज्यको प्रत्यक्ष अनुगमनमा रहेको स्थितिलाई बेवास्ता गर्दै भ्रम छर्ने काम नगर्न उसले कान्तिपुर मिडिया ग्रुपलाई सचेत गराएको छ।
कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा समाचार प्रकाशित गरेपछि पटक पटक सम्पादन गरेको देखिन्छ। उक्त सामग्री प्रकाशित भइसकेपछि इमेज ग्रुप अफ कम्पनिज्का बारेका जानकारी अद्यावधिक गरिएको छ।
प्रकाशित: ९ वैशाख २०८३ ०९:५५ बुधबार





