२५ असार २०८३ बिहीबार
image/svg+xml
समाज

अबदेखि कर्मचारीको खराब आचरण व्यक्तिगत अभिलेखमै राखिने

पोसाकमा भिडियो बनाउन नपाइने

अब निजामती कर्मचारीहरूको नकारात्मक आचरण तथा उनीहरूबाट भएका अनुशासन उल्लङ्घनका घटनाहरू उनीहरूको व्यक्तिगत अभिलेखमै राखिने भएको छ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार राष्ट्रिय किताबखानाले यस्तो अभिलेख राख्न सुरु गरेको हो। राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार दुई दिनअघि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट किताबखानालाई यस्तो निर्देशन आएको हो।

राष्ट्रिय सतर्कता केन्द्र र निजामती किताबखानाको पहलमा यसरी अभिलेख राख्न थालिएको हो। सतर्कता केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा किताबखानाले कर्मचारीहरूको व्यक्तिगत विवरण (पर्सनल इन्फर्मेसन सिस्टम–पीआईएस) मा कर्मचारीहरूको नकारात्मक आचरण तथा अनुशासन उल्लङ्घनका घटनाको अभिलेख राख्न थालेको हो।

पीआईएसमा नकारात्मक आचरणसम्बन्धी विवरण राख्न थालिएको यो पहिलो पटक हो।

पोखरेलले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन कार्यान्वयन गर्न थालेका हौं। पहिलो पटक यसरी पीआईएसमा अभिलेख राख्न थालिएको हो।’

निजामती सेवा ऐनमै कर्मचारीले गरेको लापरबाही तथा कामकारबाहीमा भएका अनुशासन उल्लङ्घनका घटनाहरू उनीहरूको व्यक्तिगत अभिलेखमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

तर, उक्त व्यवस्था अहिलेसम्म प्रभावकारी रूपमा कार्यान्वयन भएको थिएन। पहिलो पटक उक्त व्यवस्था कार्यान्वयन गर्न थालिएको किताबखानाका कर्मचारीहरूले बताएका छन्।

निजामती सेवा ऐन, २०४९ को दफा ५५ (क) मा कर्मचारीले समयको पालना नगरेमा, सरकारी कामसम्बन्धी विषयमा आफूभन्दा माथिल्लो कर्मचारीले दिएको आदेश पालना नगरेमा वा कार्यालयको काममा लापरबाही तथा ढिलासुस्ती गरेमा सुपरिवेक्षकले कारण खुलाई चेतावनी दिन सक्ने र त्यस्तो चेतावनीको विवरण सम्बन्धित कर्मचारीको व्यक्तिगत अभिलेखमा अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

किताबखानाका अनुसार अब कर्मचारीले समय पालना गरे/नगरेको, सरकारी कामकाजसम्बन्धी विषयमा आफूभन्दा माथिल्लो कर्मचारीले दिएको आदेश पालना गरे/नगरेको तथा कामकारबाहीमा ढिलासुस्ती वा लापरबाही गरे/नगरेको विवरण पीआईएसमा राखिनेछ।

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा निरन्तर अनुगमन गर्ने र अनुगमनका क्रममा समय पालना भए/नभएको तथा तोकिएको पोशाक लगाए/नलगाएको विषयमा पनि निगरानी गर्नेछ।

अनुगमनका क्रममा समय पालना नगरेको वा तोकिएको पोशाक नलगाएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखले सम्बन्धित कर्मचारीलाई चेतावनी तथा सचेत गराउनेछन्। यसरी दिइएको चेतावनी र सचेतनामूलक विवरण सम्बन्धित कर्मचारीको पीआईएस अभिलेखमा राखिनेछ।

यसरी पीआईएसमा अभिलेख राखिएपछि कर्मचारीको सरुवा, बढुवा तथा अन्य प्रशासनिक निर्णयका क्रममा सम्बन्धित कर्मचारीको आचरण र कार्यशैलीबारे जानकारी प्राप्त हुने भएकाले कसलाई कहाँ सरुवा गर्ने वा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा उचित निर्णय गर्न सहज हुने किताबखानाका एक कर्मचारीले बताए।

उनले भने, ‘आजसम्म हामीले पीआईएसमा कसैको पनि खराब आचरणसम्बन्धी विवरण राखेका थिएनौँ। अब भने राख्न सुरु गरेका छौं।’

यसैबीच सरकारले कर्मचारीहरूका लागि आचारसंहिता जारी गर्दै कार्यालय पोशाक लगाएर फोटो वा भिडियो सामग्री बनाउन नहुने व्यवस्था गरेको छ। साथै, कार्यालय समयमा फेसबुक चलाउनसमेत निषेध गरिएको छ।

आचारसंहितामा भनिएको छ, ‘कार्यालयको काममा रहेको समयमा, कार्यालय वा परिसरमा वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोशाकमा कार्यालयसँग सम्बन्धित प्रवर्द्धनात्मक वा शिक्षामूलकबाहेकका फोटो वा भिडियो सामग्री निर्माण गर्न वा सामाजिक सञ्जालमा राख्न हुँदैन।’

आचारसंहितामा थप भनिएको छ, ‘कार्यालय समयबाहेक फेसबुक, ट्विटर (एक्स), ह्वाट्सएप, लिंक्डइन, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक आचारसंहिताको अधीनमा रही उच्चतम सतर्कता अपनाउनुपर्छ।’

त्यस्तै, आफ्नो जिम्मेवारीको काम गर्न कसैको निर्देशनको प्रतीक्षा नगरी स्वतःस्फूर्त रूपमा क्रियाशील रहनुपर्ने, कार्यालयमा रहँदा तोकिएको पोशाक र कर्मचारी परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने तथा कुनै पनि प्रकारको अनुचित प्रभाव, दबाब वा प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा काम गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ।

आचारसंहितामा भनिएको छ, ‘सरकारप्रति पूर्ण वफादार रही सरकारको नीति निर्माण, कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्नुपर्छ।’

आचारसंहिताका विषयमा ११ बुँदामा विस्तृत व्यवस्था गरिएको छ।

प्रकाशित: २५ असार २०८३ २१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App