नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचन परिणाम आएसँगै उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर पनि आएको बताएका छन्।
'निर्वाचित हुनु भनेको पुन: नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,' उनले भने, 'मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ।'
पाण्डेका अनुसार निर्वाचन अभियान यस पटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो। न त ठूलो भोजभतेर, न त अनावश्यक भीडभाड। न त शक्ति प्रदर्शनको होड, न त तडकभडक। साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्याउने प्रयास भयो।
पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र गरेनन्, उनीहरूका कुरा पनि सुने। नाटा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए।
निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे। ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे।
संस्थाको आजको अवस्थालाई मात्र हेरेर नभइ भोलिको नाटालाई कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले मत मागेको बताए।
नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ।
यही सोचका साथ आफू निर्वाचनमा होम्मिएको र निर्वाचनको अन्तिम नतिजा आएपछि नाटालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन्।
'अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ। निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,' पाण्डे गम्भीर सुनिन्छन्।
उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाटाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो।
निर्वाचित भएसँगै उनले नाटालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्व र गरिमा कायम राख्ने उल्लेख गरे। नाटाको ५९ औँ शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन्।
प्रकाशित: ३१ श्रावण २०८३ ११:५४ आइतबार





