२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा बर्डफ्लू भित्रन नदिन पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा कडाइ

संकलन भएको पक्षी तथा पक्षीजन्य उत्पादनको एन्टिजेन परीक्षण गर्दै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका चिकित्सक तथा प्राविधिक। तस्बिर: नागरिक

पक्षी तथा पक्षीजन्य उत्पादनको एन्टिजेन नमूना परीक्षण गर्दा एभियन इन्फ्लुएन्जा भाइरस नभेटिएपनि पूर्व सतर्कताका लागि तराईका तीन जिल्लाबाट पक्षी तथा पक्षीजन्य उत्पादनको आयातमा गरिएको कडाइलाई निरन्तरता दिइने भएको छ।

जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाबाट पक्षी तथा पक्षीजन्य उत्पादनको आयातमा गरिएको प्रतिबन्धलाई कायम राखिएको जानकारी दिए। उनका अनुसार ताप्लेजुङ भित्रिने मुख्य नाकाहरूमा पक्षी तथा पक्षीजन्य उत्पादनको आयात तथा निर्यातमा कडाइ गरिएको छ।

बर्डफ्लु रोगको संक्रमण यकिन गर्न शनिबार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्राविधिहरूले पक्षी तथा पक्षीजन्य उत्पादनको नमूना संकलन गरी परीक्षण गरेका थिए। १८ वटा पसलबाट लिइएको नमूना परीक्षण गर्दा एभियन इन्फ्लुएन्जा भाइरस नभेटिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिए।

‘यो परीक्षणका क्रममा बर्डफ्लु सम्बन्धी कुनै संक्रमण भेटिएन,’ डाक्टर दाहालले भने, ‘थप आयात गरिएको बाहेक यहीको उत्पादनको उपभोगका लागि कुनै समस्या देखिएन।’ उनले बर्डफ्लु रोग भित्रिन नदिन झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाबाट पक्षी तथा पक्षीजन्य उत्पादनको आयात तत्काललाई प्रतिबन्ध गरिएको र सो निर्णय कार्यान्वयनमा सम्पूर्ण व्यवसायीले सघाउनुपर्नेमा जोड दिए।

शुक्रबार जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले पक्षी तथा पक्षीजन्य उत्पादन बिक्री वितरण गर्ने व्यवसायहरूबाट पक्षी तथा पक्षीजन्य उत्पादनको एन्टिजेन नमूना संकलन गरी परीक्षण गर्ने र सोही अनुसार बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रणका लागि थप कार्ययोजना तयार गर्ने निर्णय गरेको थियो। नमूना संकलनपछि गरिएको परीक्षणमा बर्डफ्लु रोग सम्बन्धी कुनै संकेत फेला नपारेपछि थप आयात नगर्ने र अहिलेसम्मका पक्षी तथा पक्षीजन्य उत्पादनको बिक्री वितरण तथा उपभोग साविक झै नियमित गर्न गराउन सकिने निष्कर्ष जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिले निकालेको छ।

प्रकाशित: ६ वैशाख २०८३ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App