१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

मनाङ हिमपहिरो: थप चार जनाको शव भेटियो, मृतकको संख्या ११ पुग्यो

मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा परेर ज्यान गुमाएका थप चार जनाको शव बिहीबार फेला परेको छ।

योसँगै हिमपहिरो क्षेत्रबाट उद्धार टोलीले निकालेको शवको कुल संख्या ११ पुगेको हो।

उद्धार टोलीका संयोजक तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजिए) पासाङ काजी शेर्पाका अनुसार अत्यधिक प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच हिउँ पन्छाएर थप शव निकालिएको हो।

आज भेटिएका मृतकहरूको पहिचान भने प्रमाणीकरण हुन बाँकी रहेको छ। यसअघि खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे, पासाङ भोटे, आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो।

घटनास्थलमा नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघ (एनएनएमजिए) को नेतृत्वमा हिमालयन होलिडेज, सेभेन समिट ट्रेक्स र स्थानीय गाइडहरूको समन्वयमा संयुक्त खोजी तथा उद्धार कार्य जारी छ

 उद्धारका लागि आइएफएमजिए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीसहित ११ जना अनुभवी क्लाइम्बिङ गाइड तथा स्थानीय उद्धारकर्मीको टोली फिल्डमा खटिएको छ।

टोलीमा दावा जाङ्बु शेर्पा, निगिमा तासी शेर्पा, बलराम गोम्बु, काजी शेर्पा, दा नुर्बु शेर्पा, दावा साङ्गे शेर्पा, तार्के शेर्पा र दावा तेन्जी शेर्पासहितका उद्धारकर्ता संलग्न छन्।

गत असोज ११ गते बिहान नार्फाभूमि गाउँपालिका-५ स्थित करिब ५ हजार २ सय मिटर उचाइमा हिम्लुङ आरोहणका क्रममा भीषण हिमपहिरो खसेको थियो।

हिमपहिरोमा परेकामध्ये ११ जना दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए भने बाँकी बेपत्ताहरूको खोजीमा उद्धार टोली लगातार जुटिरहेको छ।

एनएनएमजिएले आज फेला परेका शवहरूको विस्तृत विवरण प्रमाणीकरण भएपछि सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८३ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App