धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २१ दशमलव १९ अङ्कले घटेर २ हजार ६१२ दशमलव ४२ विन्दुमा झरेको छ।
आजको कारोबारमा बजारका सबै उपसमूह राताम्मे बनेका छन्। दिनभर कुल ४२ कम्पनीको शेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
परिसूचक घटे पनि बजारमा पाँच अर्ब रुपैयाँमाथिको कारोबार भएको छ। दिनभर विभिन्न कम्पनीका १ करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ रुपैयाँमा खरिद-बिक्री भएका छन्।
यस दिन ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ७७ अङ्कले घटेर ४६३ दशमलव ६८ विन्दुमा पुगेको छ।
यस्तै, फ्लोट सूचक १ दशमलव ५० अङ्कले घटेर १७९ दशमलव ६३ र सेन्सेटिभ फ्लोट सूचक १ दशमलव ३२ अङ्कको गिरावटसँगै १५६ दशमलव ५८ विन्दुमा सीमित भएको छ।
बजार ओरालो लागे पनि नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्।
अर्कोतर्फ, एनएमबी हाइब्रिड फण्ड, रिग्वे लाइन इनर्जी र नेपाल वायरहाउस कम्पनीलगायतका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्।
प्रकाशित: ३१ भाद्र २०८३ १५:३५ बुधबार





