सडक विभागका इन्जिनियरहरूले गत भदौ १४ गते देखि बन्द रहेको नागढुंगा —मुग्लिङ सडकखण्ड अन्तर्गत कृष्णभिरको पहिरो छिचोलेर नयाँ ट्र्याक खुलाएका छन्।
अहिले गएको पहिरो भन्दा केही माथिबाट भित्ता काटेर नयाँ ट्र्याक खुलाइएको हो। सडक विभागका महानिर्देशक डा. विजय जैशीले आइतबार कृष्णभिरमा नयाँ ट्र्याक खुलेको बताए।
‘दुई तीरबाट काम गरेर नयाँ ट्र्याक खुलाएका छौ तर नयाँ ट्रयाकबाट हाल सोही ठाउँमा निर्माण प्रयोजनको लागि निर्माण समाग्री बोकेका गाडी र मजदुर मात्र आवत जावत गर्नेछन्,’ जैशीले भने, ‘अन्य सवारी साधनहरुको हकमा भने भदौ मसान्तबाट खुलाउने हाम्रो तयारी छ। तर मौसम सफा भयो र घाम लाग्यो भने भदौ मसान्तसम्म खुलाउछौ। मौसमले साथ दिएन भने भदौ मसान्त भन्दा पनि ढिलो हुन सक्छ।’ उनका अनुसार नयाँ ट्र्याक करिब २ सय ५० मिटर लामो छ।
नयाँ ट्र्याक हाल एक लेनको मात्र छ। इन्जिनियरहरूले यसलाई थप चौडाइ बनाइ दुई लेनको बनाउने काम गरिरहेका छन्। भदौ मसान्तसम्म दुई लेनको बनाउने विभागको योजना छ।
विभाग मातहतको नागढुंगा —मुग्लिङ सडक आयोजना कार्यालयले दसैँ अगाडि नै नागढुंगा —मुग्लिङ सडक खण्ड अन्तर्गत कृष्णभिरको पहिरो खुलाउने गरी जोखिम पूर्ण किसिमबाट काम गरिरहेको छ।
कृष्ण भिरको पहिरो कसरी खुलाउने, पहिरो खुलाउँदा कुन विधि अपनाउने भन्ने विषयमा नेपाल जियोटेक्निल सोसाइटिले स्थलगत अध्ययन गरी विभागलाई प्रतिवेदन बुझाइसकेको छ।
उक्त टोलीको नेतृत्व नरेशमान शाक्यले गरेका थिए। उक्त टोलीले दिएको प्रतिवेदनको आधारमा विभागले काम सुरु गरेको छ।
भित्ता काट्ने बित्तिकै भित्ता काटिएको ठाउँमा पर्खाल लगाउने, सडकमा पानी निकास गर्न कुलेसो बनाउने, सिट पायल गाड्न जस्ता संरचना तयार गर्न सुझाव टोलीले दिएको छ।
‘तल पहिरो गएको ठाउँको मुनिबाट पर्खाल लगाउन सकिन्न। किनभने त्यो जोखिम पूर्ण हुन्छ। अहिले हामीले काम गर्ने भनेको भित्ता काटेर नै नयाँ ट्र्याक खोल्ने हो। जसमा हामी सफल भयौ,’ उनले भने।
जियोटेन्किल सोसाइटिले कृष्णभिरको पहिरो खुलाउन आपतकालिन डिजाइन तयार गरीसेकको छ र उक्त डिजाइनसडक विभागलाई बुझाइसकेको छ। उक्त डिजानइको आधामार विभागको मातहतमा रहेको नागढुंगा—मुग्लिङ सडक आयोजनाले काम गरिरहेको छ।
भित्ता काटेर नयाँ खुलाइएको ट्र्याकमा तत्काल पिच गरिने छैन। ‘पहिले हामीले ग्राभेल बनाउने छौँ। त्यस सडकले गाडीको भार कति थेग्न सक्छ भन्ने परीक्षण गर्छौ। गाडीको भर थेग्न सक्यो भने तत्कालै कालोपत्रे गर्छौ,’जैशीले भने, ‘गाडीको भार थेग्न सकेन भने कालोपत्र गर्ने छैनौ।’
गत भदौ १४ गते बिहान कृष्णभिरमा आएको पहिराले त्यस दिन देखि नै नेपालका लाइफलाइन सडक ठप्प छ। यसबाट काठमाडौंमा एक किसिमबाट अघोषित नाकाबन्दी लागेको छ।
भदौ १४ गते यता देखि काठमाडौंसँग काठमाडौं बाहिरका ६७ जिल्ला जोड्ने सडक उक्त दिनबाट ठप्प छ। मलेखुदेखि मुग्लिनका बिचमा कृष्णभिर छ। उक्त भिर मलेखुबाट करिब १० किलोमिटर पर छ।
विभागका एक कर्मचारीका अनुसार कृष्णभिरमा गत असारदेखि नै नदीले क्षति पुर्याउन थालेको थियो तर त्यति बेला बेवास्ता गरियो। ‘गत असारमै राम्रोसँग मर्मत गरेको भए सम्भवतः यति बेला पहिरो जाने थिएन कि?’ एक कर्मचारीले भने,‘गत भदौ १० गते भोटेकोसी बाढीले कृष्णभिरको जगमा झनै क्षति पुर्यायो।’
कृष्णभिरमा पहिलो जाँदा हाल मुग्लिन–नागढुंगा सडक सुनसान छ भने हेडौंडादेखि काठमाडौं आउने सडकमा सवारीसाधनको चाप छ।
कृष्णभिरमा पहिरो जाँदा अहिले वैकल्पिक सडकको रूपमा त्रिभुवन राजपत्र र कान्तिलोक पथलाई प्रयोग गरिएको छ। अहिले ती दुई सडक निकै व्यस्त छन्।
प्रकाशित: २१ भाद्र २०८३ १८:०७ आइतबार





-600x400.jpg)