२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

एकै वर्षमा २०२ मिर्गौला प्रत्यारोपण गर्दै धर्मभक्तले रच्यो नयाँ रेकर्ड

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा २०२ जनाको सफल मिर्गौला प्रत्यारोपण गरी नयाँ कीर्तिमान कायम गरेको छ।

१४ वर्षे इतिहासमा यो हालसम्मकै उच्च वार्षिक उपलब्धि भएको केन्द्रले जनाएको छ। आफ्नै भवन र पर्याप्त जग्गाको अभाव झेलिरहे पनि केन्द्रले देशमा हुने कुल प्रत्यारोपणको करिब दुई तिहाइ हिस्सा ओगट्दै आएको छ।

यसपटक मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व डा. दीपेश श्रेष्ठले गरेका हुन्। केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले बुधबार वक्तव्य जारी गर्दै यस सफलताले नेपालमा अङ्ग प्रत्यारोपण सेवाको विकास र विस्तारमा थप ऊर्जा दिएको बताइन्।

उनले भनिन्, ‘यस ऐतिहासिक कोशेढुङ्गाले आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र प्रभावकारी सेवा दिन बाटो खुलाएको छ।’

प्रत्यारोपण प्रक्रियामा विभिन्न विभागको महत्त्वपूर्ण योगदान रहेको छ। केन्द्रका अनुसार नेफ्रोलोजी विभागको नेतृत्व डा. लुसन सिंह, एनेस्थेसिया तथा क्रिटिकल केयरको नेतृत्व डा. आरती राई र रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकीको टोलीले सम्हालेको छ।

त्यस्तै, प्रत्यारोपण संयोजन तारा साँध, नर्सिङ सेवा सनिषा कार्की तथा प्याथोलोजी ल्याब र अस्पताल फार्मेसीको टोलीले अनवरत सहयोग पुर्‍याएको केन्द्रले जनाएको छ।

स्थापनाको १४ वर्षमा केन्द्रले ९९ प्रतिशतभन्दा बढी सफलता दर कायम राख्दै हालसम्म १ हजार ६ सय ७० जनाको मिर्गौला र ३७ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्नुका साथै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवातसमेत यसै केन्द्रले गरेको थियो। अङ्गदान र प्रत्यारोपणसम्बन्धी कानुन परिमार्जनमा पनि केन्द्रको उल्लेख्य योगदान रहेको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको यो एकमात्र संघीय प्रत्यारोपण केन्द्र काठमाडौंबाट करिब १२ किलोमिटर दूरीमा रहेको भक्तपुरको दूधपाटीमा अवस्थित छ।

वि.सं. २०६९ वैशाख ११ गते मानव अङ्ग प्रत्यारोपण केन्द्रका रूपमा स्थापना भएको यस संस्थालाई सहिद धर्मभक्त माथेमाको सम्मानमा २०७४ पुस १३ गते मन्त्रिपरिषद्को निर्णयबाट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नामाकरण गरिएको थियो।

केन्द्र स्थापनामा तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतो, स्वास्थ्य सचिव डा. प्रवीण मिश्र, पूर्वकार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र वर्तमान कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको छ।

सामान्य बहिरङ्ग र हेमोडाइलाइसिसबाट सेवा सुरु गरेको यस अस्पतालले हाल दैनिक १५० जनाभन्दा बढी बिरामीलाई हेमोडाइलाइसिस सेवा दिँदै आएको छ।

यसबाहेक मिर्गौला तथा कलेजो प्रत्यारोपण, अत्याधुनिक युरोलोजी, मुटु, पेट, नाक-कान-घाँटी रोगको उपचार, फिजियोथेरापी र रेडियो डायग्नोसिसलगायतका विशेषज्ञ सेवा प्रवाह गरिरहेको केन्द्रले जनाएको छ।

प्रकाशित: २० श्रावण २०८३ १९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App