सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ।
केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत रु ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए।
एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ।
निर्देशक ढकालले भने, ‘अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ।’
त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ।
हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ।
परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम भइरहेको छ।
कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ।
प्रकाशित: १३ कार्तिक २०८३ १३:०५ शुक्रबार





