भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि नेपालगन्जका निजी तथा सामुदायिक अस्पतालले रकम सहयोग गरेका छन्।
यहाँका आधा दर्जन बढी अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ रुपैयाँ सहयोग गरेका हुन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालहरूले रकम जम्मा गरेका छन्।
बाढी पीडितका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले २५ लाख रुपैयाँ उक्त कोषमा जम्मा गरेको छ। उक्त अस्पतालले विपद्को सामना गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत रकम सहयोग गरिएको जनाएको छ।
यस्तै सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रा.ली.ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ। अस्पतालका प्रबन्ध निर्देशक सन्तोष खनालले बाढी पीडितको उद्धार तथा पुनः स्थापनामा सहयोग पुग्ने हेतुले रकम सहयोग गरिएको बताएका छन्।
यसैगरी फत्तेबाल आँखा अस्पताल नेपालगन्जले ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। अस्पतालका प्रबन्ध निर्देशक डा.कौशलकुमार बर्माका अनुसार अस्पतालमा आबद्ध समाजसेवी, कार्यरत कर्मचारी तथा अस्पतालको तर्फबाट सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो। बाढी पीडितका लागि नेपालगन्जमै रहेको एचसीआरसी अस्पतालले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
अस्पताल परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको हो। यस सहयोगले विपद्मा परेका परिवारलाई थोरै भएपनि राहत पुग्ने विश्वास गरिएको अस्पतालका प्रमुख डा.कुमार सान शाहले बताएका छन्।
विपद्को घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनामा सक्दो सहयोग गर्ने अस्पतालले प्रतिबद्धता पनि जनाएको छ।
त्यस्तै नेपालगन्ज न्युरो अस्पतालले १ लाख १६ हजार ५ सय १३ रुपैयाँ उद्धार कोषमा जम्मा गरेको छ। अस्पतालका सञ्चालक डा.जोशन न्यौपानेले विपद्को समयमा सरकारलाई हौसला बढाउन बाढी पीडितका लागि सहयोग गरिएको बताएका छन्।
त्यसैगरी सागर अस्पताल नेपालगन्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ जम्मा गरेको छ। अस्पतालका सञ्चालक डा. गोपाल सागर डिसीले विपद्को कठिन परिस्थितिमा प्रभावित भएका नागरिकलाई राहत उपलब्ध गराउन रकम जम्मा गरिएको बताए।
बाढी पीडितका लागि लाइफ लाइन जनरल अस्पताल नेपालगन्जले १ लाख रुपैयाँ सहयोग गरेको छ। अस्पतालका सञ्चालक डा. प्रतीक श्रेष्ठले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको बताएका छन्।
प्रकाशित: १९ भाद्र २०८३ १८:१२ शुक्रबार





