१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपाल प्रेसका अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्यूरोमा

तस्बिर: नेपाल प्रेस

नेपाल प्रेसको प्रकाशन संस्था नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई प्रहरीले साइबर ब्यूरोमा बोलाएको छ।

प्रहरीको फोनपछि दुवै जना ब्यूरो पुगेका हुन्। नेपाल प्रेसका प्रधानसम्पादक पौडेलका अनुसार समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै प्रहरीले आफूहरूलाई बोलाएको हो।

यसअघि प्रहरीले नेपाल प्रेसको कार्यालयमै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो। सुवेदी पक्राउ परेको केही समयपछि अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेललाई पनि ब्यूरोमा उपस्थित हुन भनिएको हो।

प्रहरी स्रोतका अनुसार नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सरकारले दबाब बढाएको सम्बन्धी समाचारलाई लिएर सोधपुछ गर्न खोजिएको हो।

यस घटनाप्रति पत्रकारहरूले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै निन्दा गरेका छन्। घटनाबारे जानकारी पाएपछि नेपाल पत्रकार महासंघका पदाधिकारीसहित विभिन्न सञ्चारकर्मी साइबर ब्यूरो पुग्न थालेका छन्।

पत्रकार पक्राउ तथा सम्पादकीय नेतृत्वलाई प्रहरी कार्यालयमा बोलाइएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारिताको निर्भीकताबारे पुनः बहस सिर्जना गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App