१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

युएईले कडाइ गरेपछि दैनिक झन्डै आठ सय कामदार रोकिए

सांकेतिक तस्बिर

नेपालको युवा शक्ति विदेशी रोजगारमा निर्भर छ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली कामदारका लागि प्रमुख गन्तव्य हो । जेनजी आन्दोलनपछि यएईले भिसामा कडाइ गर्दा दैनिक आठ सय कामदार रोकिएका छन् ।  

हाल युएईले नेपालीलाई भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेपछि आठ सय कामदार रोकिएका हुन् । १५ सेप्टेम्बर २०२५ देखि युएईले भिजिट भिसा बन्द गरेको छ भने वर्किङ भिसामा समेत कडाइ गरेको म्यानपावर व्यवसायीहरूले बताएका छन् ।  

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार वर्किङ भिसाका लागि दिइएको आवेदनहरू अस्वीकार भइरहेका छन् । नेपालमा हालै भएको जेनजी आन्दोलन र त्यस क्रममा भएका हिंसात्मक गतिविधिलाई आधार मानेर युएईले भिसा वितरणमा अस्थायी रोक लगाएको उनको अनुमान छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै दुई लाख ७४ हजार पाँच सय ९० जना नेपालीहरू श्रम स्वीकृति लिएर युएई गएका थिए । चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा २३ हजार ८३८ जना र भदौमा २५ हजार दुई १८ जना कामदारले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।  

‘यसबारे युएईबाट हालसम्म कुनै पनि आधिकारिक सूचना सार्वजनिक नभए पनि कही दिनदेखि नेपालीहरूको भिसा आवेदन ‘रिजेक्ट’ भइरहेको छ,’ निवर्तमान अध्यक्ष भण्डारीले नागरिकसँग भने, ‘आन्दोलनका क्रममा विभिन्न जेलबाट १३/१४ हजार जनाभन्दा बढी कैदी भागेका छन् । ती मध्ये दुईतीन हजार मात्रै समातिएका छन् । बाँकी सबै फरार छन् ।’ त्यसरी भागेका कैदीहरू भिजिट भिसामार्फत युएई प्रवेश गर्छन् भन्ने डरले युएईले अस्थायी रूपमा भिजिट भिसामा नेपाली जान बन्द गरेको अनुमान भण्डारीको छ ।

दैनिक वैदेशिक रोजगारीका लागि युएई जाने तयारीमा रहेका हजारौं नेपाली युवाहरू घरमै रोकिएका छन् । युएई जान भनी ऋण लिएका युवा झनै अन्योलमा परेका छन् । अहिले नेपालमै देखिएको ध्वंसात्मक व्यवहार र कैदी भागेको जस्ता घटनालाई आधार बनाउँदै युएईमा अशान्ति निम्त्याउने प्रवृत्तिका मानिस पस्यो भने समस्या आउन सक्ने भएकै कारण युएईले यस्तो कदम चालेको हुन सक्ने आकलन व्यवसायीहरूले लगाएका हुन् ।

आन्दोलनका क्रममा ७४ जनाको ज्यान गइसकेको छ भने सयौं जना घाइते भएका छन् । आन्दोलनकारीहरूले सिंहदरबारदेखि संसद् भवनसम्म तोडफोड, आगजनी र लुटपाट गरेका थिए । भने विभिन्न जेल तोडफोड गरेर कैदीहरू फरार भएका थिए । यही घटनालाई सुरक्षा जोखिमका रूपमा लिँदै युएईले नेपाली नागरिकप्रति कडाइ गरेको हुन सक्ने उनको भनाइ छ ।  

नेपालीहरू वर्किङ भिसामार्फत जान नसकेको खण्डमा भिजिट भिसामार्फत भए पनि युएई जाने गरेका छन् । जसका कारण हाल जेलबाट फरार भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपराधीहरू भिजिट भिसामार्फत युएई जान सक्ने सम्भावना उच्च भएकाले भिजिट भिसालगायत वर्किङ भिसासमेतमा रोक लगाइएको हुन सक्ने भण्डारीले नागरिकसँग बताए ।

१५ सेप्टेम्बर २०२५ देखि लागु हुने गरी नेपाली नागरिकहरूको लागि नयाँ रोजगार/भिजिट भिसा अस्थायी रूपमा निलम्बन गरेको जानकारी दिएका हुन् । यो विषयमा युएईस्थित नेपाली दूतावासलाई आधिकारिक सूचना जारी गरिएको छैन । तर युएईका अधिकारीहरूले नेपालमा विरोध प्रदर्शन र जेल तोडफोड, साथै घरेलु कामका लागि भ्रमण भिसाको दुरुपयोगका बारेमा चिन्ता पछि अनौपचारिक रूपमा यो कदम चालिएको जानकारी नेपाली म्यानपावर व्यवसायीहरूलाई गराएको छ ।

युएई जान वर्किङ भिसा आइसकेका तर प्रस्थान नगरेका कामदारलाई प्रहरी प्रतिवेदन बुझाएर मात्र जान दिने गरेको म्यानपावर व्यवसायीहरू बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले भने, ‘युएई सरकारले अहिले सम्म कुनै पनि लिखितम जानकारी दिएको छैन । चार दिनदेखि वर्किङ र भिजिट दुवै भिसाको काम भइरहेको छैन ।’ तर केही सातापछि खुल्न सक्ने उनको अनुमान छ ।

जेनजी आन्दोलनपछिको असुरक्षा र कैदी फरार प्रकरणसँगै भिजिट भिसा नै पूर्ण रोकिएको बताइन्छ । वर्किङ भिसा भने आइसकेका कामदारलाई प्रहरी रिपोर्टसहित मात्र इजाजत दिइँदै आएको गुरुङको भनाइ छ ।

म्यानपावर व्यवसायीहरू अहिले अनिश्चिततामा छन् । वर्किङ भिसा आइसकेका कामदार पठाउन ढिलाइ हुँदा आर्थिक क्षति बेहोर्नुपरेको उनीहरूको गुनासो छ । उनका अनुसार दुबई हाम्रो नम्बर एक गन्तव्य मुलुक हो । त्यहाँ रोक लाग्दा नेपाली कामदार मात्रै होइन, व्यवसायीहरू पनि मारमा पर्छन् । यो तत्कालका लागि अस्थायी हो भन्ने विश्वास गरिएको उनी बताउँछन् । युएईले भिजिट र वर्किङ भिसामा कडाइ गरेपछि तत्काल हजारौं श्रमिक प्रभावित भएका छन् भने दीर्घकालीन रूपमा वैदेशिक रोजगार क्षेत्रमा ठुलो चुनौती आउन सक्ने देखिएको छ । युएईले गरेको रोक अस्थायी भए पनि यसले नेपाली श्रमिकको भविष्य, श्रम बजारमा गम्भीर प्रश्न उठ्न सक्ने सम्भावना छ ।

प्रकाशित: ३ आश्विन २०८२ २१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App