नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा घाइते रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका-५, सिमल भञ्ज्याङ खर्कभितेमा विद्युत् दुर्घटनामा घाइते भएका तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति दिने निर्णय गरेको हो।
२७ वर्षीय तामाङ ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर घाइते भएका थिए। दुर्घटनापछि उनको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो।
प्राधिकरणका अनुसार तामाङको उपचारमा सात लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको छ। अस्पतालमा ६० दिन भर्ना भएर उपचार गराउँदा एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै, दुर्घटनाबाट पूर्ण स्थायी असक्तता तथा अंगभंग भएको अवस्थामा क्षतिपूर्ति दिने प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को व्यवस्थाअनुसार १० लाख रुपैयाँ थप गरिनेछ।
यसरी उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति गरी तामाङलाई कुल १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। प्राधिकरणले यसअघि नै उनलाई पाँच लाख रुपैयाँ पेश्की दिइसकेको जनाएको छ।
तामाङको उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सनलगायत कागजात प्राधिकरण मेडिकल बोर्डले अध्ययन गरेको थियो। विशेषज्ञ चिकित्सकसहितको बोर्डले पेश्की रकम कटाएर बाँकी उपचार खर्च र दुर्घटना क्षतिपूर्ति भुक्तानी गर्न सिफारिस गरेको थियो।
विनियमावलीअनुसार दुई लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुन्छ। तर दुई लाख रुपैयाँभन्दा बढी उपचार खर्च भएमा प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्छ। तामाङको उपचार खर्च दुई लाख रुपैयाँभन्दा बढी भएकाले मेडिकल बोर्डले कागजात अध्ययन गरी भुक्तानीका लागि सिफारिस गरेको हो।
विनियमावलीमा प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार खर्च तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिन सकिने व्यवस्था पनि छ।
प्रकाशित: १५ आश्विन २०८३ २१:१७ बिहीबार


-600x400.jpg)


