नेपाली कम्युनिष्ट पार्टी खोटाङका एक नेता मृत अवस्थामा फेला परेका छन्। नेकपाको १ नं. प्रदेश कमिटी सदस्य रहेका जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ५२ वर्षीय कृष्ण कार्की आफ्नै घरनजिको बाँसघारीमा मृत फेला परेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर राईले कार्की साउने संक्रातिका दिउँसो छिमेकीको घर जान्छु भन्दै घरबाट हिँडेकोमा राति अबेरसम्म पनि नफर्केपछि परिवारजनले खोज्दा मृत भेटिएको बताए। अवेर रातिसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा उनी बाँसघारीस्थित खोल्सीमा मृत अवस्थामा फेला परेको अध्यक्ष राईले बताएका छन्।
मृतक कार्की साउने संक्रातिमा घरमै खसी काटेर परिवारजनसँगै बसेर विहानको खाना खाएको र दिउँसो छिमेकीको घर जाने भनेर हिँडेको परिवारजनबाट खुलेको अध्यक्ष राईले बताए। उनको मृत्युको कारण नखुलेको र प्रहरी बोलाएर घट्नास्थल सुरक्षित गर्न लगाइएको छ।
घट्नाबारे जानकारी भएपछि अनुसन्धान गर्न सदरमुकामबाट जिल्ला प्रहरीको टोली घट्नास्थल पठाइएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले प्रहरी टोलीघट्नास्थलमा पुगिसकेको बताउँदै कार्कीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए। उनका अनुसार शबको कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। मृत्युको कारण पोष्टमार्टमपछि मात्र थाहा हुने बुढाथोकीले बताएका छन्।
नेकपा खोटाङका संयोजक दिपक पाण्डे (आकाश)ले कार्कीको मृत्युप्रति दुःख व्यक्त गर्दै अपुरनीय क्षति भएको जनाएका छन्। उनका अनुसार कार्की विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेर पार्टीको प्रदेश सदस्यसम्म भइसकेका नेता गुमाउनु पर्दा अपुरणीय क्षति भएको आकाशले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ।
श्रीमती, २ छोरी र १ छोराका बुवा कार्की पार्टी काम सँगसँगै सामाजिक क्षेत्रमा पनि अगुवा कार्यकर्ता रहेको पार्टीले जनाएको छ। उनका तीनै जना छोराछोरी स्वास्थ्यकर्मी रहेको बताइएको छ।
प्रकाशित: २ श्रावण २०८३ १३:५४ शनिबार



-600x400.jpg)

