पाल्पाका ग्रामीण बस्तीहरूमा पुस्तौंदेखि जोगाएर राखिएका रैथाने बालीका बीउ तीव्र रूपमा लोप हुन थालेका छन्।
पछिल्ला वर्षहरूमा किराको अनपेक्षित प्रकोप र बदलिँदो मौसमका कारण कालो भट्ट, मास, सिमी, बोडी र झिल्ङ्गीजस्ता परम्परागत दलहन बाली सखाप भएपछि किसानहरू बजारबाट खरिद गरिने उन्नत बीउमा निर्भर हुन बाध्य भएका हुन्।
कुनै समय माथागढी गाउँपालिकास्थित ओलेसका ६० भन्दा बढी घरपरिवारका लागि स्थानीय सानो दानाको कालो भट्ट घरखर्च धान्ने बलियो आधार थियो।
मकैबारीमा भट्ट लगाएर बेच्ने र त्यसैको आम्दानीबाट वर्षभरिका लागि चामलको जोहो गर्ने यहाँको पुरानो परम्परा अहिले तोडिएको छ।
स्थानीय किसान वीरबहादुर सारुका अनुसार बाजेका पालादेखि गाउँमै सुरक्षित राखिँदै आएको भट्टको बीउ अचेल पाउनै छाडिएको छ।
‘मकैसँगै भट्ट लगाउने चलन बाजेका पालादेखिकै हो, तर एक्कासि किराको प्रकोपले बोटमा दाना नै लाग्न छाड्यो,’ सारु भन्छन्, ‘स्थानीय पहिचान बनेको कालो भट्टको बीउ गाउँबाटै हराएपछि चार वर्षयता हामी बजारको बीउमा भर पर्न थालेका छौँ।’
गोठादीका पुराना कृषक प्रतीक थापाको सम्झनामा पनि खेतका आलीमा लटरम्म फल्ने मास अझै ताजा छ। खेतको आलीमा मास लगाउने र त्यसको कमाइबाट जाडोका लत्ताकपडा किन्ने चलन पाँच वर्षअघि किराको प्रकोप फैलिएसँगै रोकियो।
किरा नियन्त्रणका उपायहरू असफल भएपछि यस पटक बीउ अभावकै कारण गाउँमा मास रोप्न नसकिएको उनले बताए। बाली जोगिएको भए गाउँमा दुई-चार लाख रुपैयाँ भित्रिने थापाको भनाइ छ।
यस्तै नियति निस्दीको मित्यालकी माया सुनारीले पनि भोगेकी छन्। मकैसँगै सिमी लगाएर आम्दानी गर्दै आएकी उनको बारीमा गत वर्ष किराले बोट नै सखाप बनाइदियो। गाउँभरि नै किराले क्षति पुर्याएपछि यस वर्षका लागि बीउसमेत जोगाउन नसकिएको उनले बताइन्।
रैथाने बाली संकटमा पर्नुको मुख्य कारक जलवायु परिवर्तन र तापक्रम वृद्धि रहेको कृषि प्राविधिकहरूको निष्कर्ष छ।
कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेका अनुसार पछिल्ला वर्षहरूमा बढ्दो तापक्रमका कारण दलहन बालीमा नयाँ-नयाँ किराको प्रकोप बढिरहेको छ।
‘जलवायु परिवर्तनका कारण रैथाने बालीमा गम्भीर असर परेको छ,’ प्रमुख पाण्डेले भनिन्, ‘रैथाने बालीमा रोग तथा किराको प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बदलिँदो वातावरणमा यस्ता बाली थप जोखिममा परेका हुन्।’ रासस
प्रकाशित: ७ आश्विन २०८३ १६:२८ बुधबार

