१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

नारायणीले पार गर्‍यो सतर्कता तह

नारायणी नदीले सतर्कता तह पार गरेको छ। बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो। नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह ८ दशमलव ३० मिटर पुगेको छ।

कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए। उनका अनुसार नारायणी नदीमा पानीको बहाव ७ दशमलव ३० मिटर पुग्दा सतर्कता तह मानिन्छ।

बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सतर्क रहन सबैमा आग्रह गरिएको उल्लेख गरे। नदीले सतर्कता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन। उनले भने, ‘अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ।’ 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरिएको बताए। उनका अनुसार तत्काल उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन्। अहिले सूचना प्रवाह गर्ने र पूर्वतयारीका काम भइरहेको उनले जानकारी दिए।   

प्रकाशित: १० आश्विन २०८३ १७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App