कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल पुग्ने नाग्म–गमगडी सडक पहिरोले एक सातादेखि बन्द हुँदा रारा जाने पर्यटकदेखि मुगुको स्याउसम्म प्रभावित भएको छ।
पिना र झ्यारी गाउँको बिचमा पर्ने टोप्ला क्षेत्रमा सडक नै नरहने गरी पहिरो खसेपछि यातायात ठप्प छ। यात्रुहरू पहिरोको जोखिम मोलेर पैदल हिँड्न बाध्य छन्।
अविरल वर्षापछि खसेको ठूलो पहिरोले सडक पूर्ण रूपमा भासिएपछि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटरसहित तीनवटा मेसिन परिचालन गरेको छ।
प्राविधिकको निगरानीमा ग्याबिन भर्ने र पर्खाल निर्माण गर्ने काम भइरहेको कार्यालयका निमित्त डिभिजन प्रमुख सर्वणकुमार महताराले बताए।‘सडक पुरै भासिएको छ।
‘ग्याबिन सहितको वाल बनाउने काम भइरहेको छ,’ महताराले भने, ‘सम्भवतः आज बेलुकीसम्म सडक खुल्न सक्छ।’
उनका अनुसार मुगुको ताल्च विमानस्थल प्रवेशद्वार नजिकै करिब डेढ सय मिटर सडकमा पनि पहिरो गएको छ। टोप्ला क्षेत्रमा ग्याबिन भर्ने काम सकिएपछि उक्त पहिरो पन्छाउने तयारी छ।
‘बेलुकीसम्म ट्रयाक ओपन गर्छौँ। भोलिदेखि सडक सुधारको काममा लाग्छौँ,’ उनले भने।
सडक अवरुद्ध हुँदा मुगुदेखि जुम्ला, कालिकोट, सुर्खेत र नेपालगञ्ज जाने सवारीसाधन चल्न सकेका छैनन्। बाहिरी जिल्लाबाट मुगु आएका गाडीले समेत पहिरो पुगेपछि यात्रु ओरालेर फर्किने गरेका छन्।
‘अहिले मुगुदेखि जुम्ला, कालिकोट, सुर्खेत र नेपालगञ्ज जाने गाडीहरू छुट्न सकेका छैनन्,’ स्थानीय रामबहादुर बुढाले भने, ‘नेपालगञ्ज, सुर्खेतदेखि आएका गाडीहरू पहिरो गएको स्थानमा यात्रु छाडेर फर्किने गरेका छन्।’
सबैभन्दा ठूलो असर स्याउ किसानमा परेको छ। स्याउ बजार पठाउने मुख्य सिजनमै सडक बन्द भएपछि बगैँचाबाट बाहिर निकाल्न नसकिएको स्थानीय बताउँछन्।
‘यो कर्णालीका लागि स्याउको सिजन हो। जति धेरै बजारमा स्याउ पठाउन सकियो, उति धेरै आम्दानी भित्रिने हो,’ बुढाले भने, ‘स्याउ बगैँचामै थन्किएका छन्। यात्रु आधा सडकमै अलपत्र परेका छन्।’
रारा जाने पर्यटकको आवागमनसमेत सडक अवरोधका कारण प्रभावित भएको छ। ९३ किलोमिटर लामो नाग्म–गमगडी सडकमा वर्षा याममा पहिरो र हिलोका कारण यातायात सञ्चालन कठिन हुँदै आएको यातायात व्यवसायीहरूको गुनासो छ।
स्थानीयले सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।
प्रकाशित: २५ भाद्र २०८३ १२:२७ बिहीबार


-600x400.jpg)


-600x400.jpg)