२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

पेट्रोलको मूल्य घटेपछि काठमाडौंका पेट्रोल पम्पहरु बन्द

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौं उपत्यकालगायत अधिकांश स्थानका पेट्रोल पम्पहरू बन्द गरिएको छ। 

पेट्रोल नभएको भन्दै निजी पम्पहरूले बिक्री वितरण बन्द गरेका हुन्। 

पम्पहरू बन्द गरिएपछि डिजेल र पेट्रोल लिन पम्पमा पुगेका उपभोक्ताहरु रित्तै हात फर्कन बाध्य बनेका छन्। केहि पेट्रोल पम्प खुले पनि पेट्रोल भर्नेको लामो लाइन लागेको छ।

आयल निगमले बुधबारबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ।

बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकहरूले पम्प बन्द गरिएको बुझिएको छ।

निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको थियो।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ।यसअघि पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो।

नेपाल आयल निगमले भने बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला चले पनि अभाव नभएको जनाएको छ। निगमले बजारमा कृत्रिम अभाव सृजना गराए कारबाही गरिने बताएको छ।

प्रकाशित: १७ असार २०८३ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App