९ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

अधिकांश सरकारी वेबसाइट र अनलाइन प्रणाली पुनः सञ्चालनमा

गत बिहीबारदेखि बन्द रहेका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली पुनः सञ्चालनमा आएका छन् ।

दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा आएसँगै सेवाग्राहीले नियमित सेवा लिन थालेका छन् । यद्यपि, काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीको समस्या पूर्ण रूपमा समाधान भएको छैन ।

काठमाडौं महानगरपालिका–३१ का वडासचिव सुरेश साहु श्रेष्ठका अनुसार अनलाइन प्रणाली नचल्दा सिफारिससम्बन्धी काम गर्न कठिनाइ भइरहेको छ । सेवाग्राहीको काम नरोकियोस् भनेर कम्प्युटरमा विवरण टाइप गरी प्रिन्ट गरेर सिफारिस दिने व्यवस्था मिलाइएको उनले बताए ।

विश्वभर वेबसाइट निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा ‘पीएचपी’ मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली गत बिहीबारदेखि अस्थायी रूपमा बन्द गरिएका थिए ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र डेटा क्षति रोक्न सावधानीस्वरूप ती प्रणाली अफलाइन राखिएको जनाएको थियो । पीएचपीमा देखिएको प्राविधिक तथा सुरक्षा कमजोरीका कारण सयौँ सरकारी वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए ।

सुरक्षा अपडेट र परीक्षणपछि अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ । तर, काठमाडौं महानगरपालिकाका वडा कार्यालयमा देखिएको समस्याले सबै सेवा पूर्ण रूपमा नियमित भइनसकेको देखाएको छ ।

प्रकाशित: ९ कार्तिक २०८३ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App