२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

चुनावका लागि उपत्यका छाड्नेको लर्को: साढे ७ लाख बाहिरिए, नाकाहरूमा जाम

बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट बाहिरिनेको लर्को लागेको छ। आफ्नो गृहजिल्ला पुगेर मताधिकार प्रयोग गर्न सर्वसाधारणले उपत्यका छाड्ने क्रम ह्वात्तै बढेको हो।

ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार हालसम्म करिब सात लाख ५० हजारभन्दा बढीले उपत्यका छोडिसकेका छन्। यो क्रम बुधबारसम्मै जारी रहने छ। ‘सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ।’ प्रहरी उपरीक्षक शाहले भने।

यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाइन देखिएको छ। यातायात व्यवस्थालाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति थपिएको छ।

भीडभाड हुने क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरिएको शाहले जानकारी दिए। उनले थपे, ‘आवश्यकताअनुसार नजिकका प्रहरी इकाइहरूसँग समन्वय गरी निगरानी बढाइएको छ। निर्वाचन सुरक्षामा खटिएको टोलीले समेत यातायात व्यवस्थापनमा सघाइरहेको छ।’

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको छ। ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडकको स्थितिबारे जानकारी लिएर मात्र निस्कन सुझाव दिइएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App