१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

भारी वर्षाको चेतावनीपछि सतर्कता अपनाउन जिल्ला प्रशासन मोरङको आग्रह

बंगालको खाडीमा विकसित चक्रवात आँधीसँगै भारी वर्षाको सम्भावना रहेको भन्दै  जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।  

नेपाल मौसम विज्ञान विभागले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको र उक्त प्रणाली शक्तिशाली हुँदै कात्तिक ११ देखि १४ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख छ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, सडक तथा यातायात प्रभावित हुने र दैनिक जनजीवनमा असर पर्न सक्ने  जनाइएको छ। प्रशासनले नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका भूभाग र डुबान हुन सक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जोखिमको संकेत देखिएमा सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरेको छ। अत्यावश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

प्रशासनले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित लिन र विपद् जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

प्रकाशित: १० कार्तिक २०८३ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App