५ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपालमा मनसुन प्रवेश अझै अनिश्चित, एलनिनो प्रमुख कारण

क्याप्शन

सामान्यतया जेठ २९ (जुन १३) मा नेपालमा मनसुन प्रवेश गर्ने गरेकामा यस वर्ष यो ढिलो हुने देखिएको छ । भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन ढिलो हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् ।

“गत साताभन्दा मनसुन प्रवेशका लागि अनुकूल स्थिति सिर्जना भएको छ, तर अझै केही दिन लाग्न सक्ने देखिएको छ,” अधिकारीले भने । अधिकारीका अनुसार बंगालको खाडीको समुद्री सतहमा यसको प्रभाव देखिएको छ, तर उचाइ बढ्दै जाँदा मनसुनका लागि अनुकूल पूर्वीय वायुभन्दा पश्चिमी वायुको प्रभाव बढी रहेको छ ।

“मनसुन सुरु हुन पूर्वीय वायुको वर्चस्व हुनुपर्छ, तर त्यो स्थिति छैन,” उनी थप्छन् ।

मनसुन ढिलो हुनुको कारणमा अहिले प्रशान्त महासागरमा विकसित भइसकेको एलनिनो एक रहेको उनको भनाइ छ ।

“अन्य कारण पनि होलान्, तर एल निनोका कारण पूर्वीय वायुको प्रसारण प्रभावित बनेको छ,” उनले भने । जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन सम्बन्धमा केही दिनअघि सार्वजनिक गरेको विज्ञप्तिमा पनि “एल निनोका कारण नेपालको मनसुन आगमन समेत प्रभावित पर्ने र यस वर्ष दक्षिण एसिया लगायत नेपालमा मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको” उल्लेख गरेको थियो ।

विभागका अनुसार विगतमा पनि एल निनोको प्रभावले मनसुन आगमन ढिलो भएको थियो । विभागले सरदर मिति १३ जुन रहेता पनि यसअघिका वर्षमा पनि नेपालमा मनसुन प्रवेश ढिलो भएको जनाएको छ । विभागको तथ्यांक अनुसार एल निनोको प्रभावका कारण सन् २०१९ मा २० जुन, २०२३ मा १४ जुन, सन् १९९२ मा २१ जुन, सन् १९८२ मा २७ जुन र १९८३ मा २४ जुनमा नेपालमा मनसुन प्रवेश गरेको देखिन्छ ।

प्रकाशित: ४ असार २०८३ १८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App