बाँदर आतङ्कबाट बचाउन माग गर्दै खोटाङका किसानहरु हलो, जुवालगायत घरेलु कृषि औजार बोकेर सडकमा उत्रिएका छन्। बर्सेनि बाँदर आतङ्कबाट पीडित हुनुपरेको भन्दै दीर्घकालीन छुटकाराको माग राखेर बाँदर नियन्त्रण र व्यवस्थापन समिति खोटाङको आयोजनामा सोमबार प्रदर्शन गरिएको हो।
हरेक साल बाँदरले दुख दिएपनि राज्यले किसानको समस्या नबुझिदिएको भन्दै राज्यको ध्यानाकर्षण गराउन कृषि औजारसहित प्रदर्शन गर्न बाध्य भएको उनीहरुको भनाइ छ। वर्षौँदेखिको समस्या राज्यले समाधान नगरेका कारण ध्यान खिच्न हलो, जुवा, कोदालो र दाँदे बोकेर प्रदर्शनमा उत्रिएको समूहले सदरमुकाम दिक्तेल बजारको परिक्रमा गरेको थियो।
गाउँगाउँबाट आएका बाँदरपीडित किसानहरुको सहभागिता रहेको प्रदर्शनमा बाँदर आतङ्कबाट बँच्न सरकारले भरपर्दो र दीगो समाधान खोजी दिनुपर्ने, बाँदर नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्ने तथा बाँदरको क्षतिको भरणपोषण गर्नुपर्ने माग अघि सारेको समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए।
‘सबै किसान एक हौँ, बाँदर समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको शान किसानको सम्मान’जस्ता नारा लगाउदै प्रदर्शनमा उत्रिएको र्याली दिक्तेल बजारको हुलाक डाँडादेखि त्रिवेणी चोक-भानु चोक हुँदै जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि पुगेर समापन भएको थियो।
विरोध प्रदर्शनपछि टोलीले प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई भेटेर ज्ञापनपत्र बुझाएका छन्। किसानका खेतबारीमा बर्सेनि बितण्डा मच्याउने बाँदर नियन्त्रण गर्न राज्यले ठोस कदम चाल्न ज्ञापनपत्रमा माग गरिएको छ। ज्ञापनपत्रमा बाँदरलाई थुन्न तारजालीको खोर बनाउने या बन्ध्याकरण गर्नै व्यवस्था गर्नेजस्ता उपायहरु पनि सुझाइएको छ।
ज्ञापनपत्र बुझ्दै सिडिओ कँडेलले बाँदर आतङ्क विषयमा आफूहरु सचेत र गम्भीर रहेको बताईन्। बाँदर समस्याको दीर्घकालीन समाधानका लागि माथिल्लो तह (संघीय सरकार) बाटै योजना बनाउन सम्बन्धित निकायलाई ज्ञापनपत्र पठाउने प्रतिबद्धता जनाइन्। त्यसका लागि स्थानीय र प्रदेश सरकारले पनि उपायको खोजी गर्ने विषयमा छलफल चलाउने उनको आश्वासन थियो।
खोटाङबासी बाँदरपीडित किसानहरुले गत माघ-२४ गते दिक्तेलमा बृहत भेला अयाोजना गरि ‘बाँदरपीडित संघर्ष समिति’ गठन गरेका थिए। सोही समितिको निर्णय अनुसार विरोध प्रदर्शन आयोजना गर्दै सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाइएको हो। अध्यक्ष घिमिरेले यसअघि बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर दीर्घकालीन रुपमा बाँदर नियन्त्रण गर्ने व्यवस्था मिलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र विभिन्न निकायलाई सुझाईसकेको पनि जानकारी दिए।
बाँदरले खेतबारीमा लगाएको किसानका मकै, गहुँ, कोदोलगायत अन्नबाली, अलैँची, आलु, धान, मास, दालजस्ता दलहन र तेलहन तथा करेला, सुन्तला, कागती, केरालगायत फलफुल वर्षेनी खानुका साथै नष्ट गरेर क्षति पुर्याउँदै आएको छ। वर्षेनी बाँदरले यसरी हैरान पार्ने गरे पनि सरकारले बाँदर नियन्त्रणको दीगो र भरपर्दो उपाय भने नअपनाउँदा किसान पीडित हुदै आउनु परेको छ।
बाँदर मार्न नहुने कानुनी व्यवस्था रहेकाले बाँदरले बिझाई गरे पनि मार्न नहुने भएपछि खोरमा थुन्ने वा बन्ध्याकरण गर्ने व्यवस्था गर्न सरकारले नै पहल गर्नुपर्ने माग अध्यक्ष घिमिरेको छ।
यसअघि २०७५ फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरि गाउँमा आउने बाँदर समातेर विभिन्न राष्ट्रिय निकुञ्जमा पु¥याउने योजना अघि सारिएको थियो। त्यसका लागि भारतको खुसीनगर उत्तरप्रदेशका पेशेवार बाँदर शिकारी झिकाएर दर्जनौँ बाँदर समातेर उता पठाइएको थियो। तर, बाँदर निकुञ्जमा लैजानु अघि नै समातेर राखेको ठाउँमै मर्न थालेको देखेर पशुअधिकारकर्मीहरुले विरोध गरेपछि त्यो योजना लागू हुन पाएको थिएन।
त्यसबेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १० लाख बजेत विनियोजन गरेर बाँदर समाउने अभियानको सुरुवात गरेको भए पनि पशुअधिकारकर्मीको विरोधका कारण त्यत्तिकै योजना सेलाएको थियो। त्यससबेला बाँदर समात्न आर्थिक सहयोग उपलब्ध गराएको नगरपालिकाले त्यसयता सहयोग गर्न छाडेको थियो।
प्रकाशित: १६ चैत्र २०८२ १५:५३ सोमबार



-600x400.jpg)

