उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको जनाउँदै आवश्यक मात्रामा मात्र ग्यासको खरिद गर्न आम उपभोक्तामा आग्रह गरेको छ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताए।
‘आफूलाई हालका लागि आवश्यक पर्ने मात्रामा मात्र खरिद गरौँ। पछि नपाइएलाकी भन्ने चिन्ता र समस्याबाट मुक्त बन्नुहोस्। अनावश्यक सञ्चय पनि नगरौँ’, उनले भने।
यही साउन १ देखि २९ गतेसम्म भारतबाट दुई हजार ७८१ बुलेट ग्यास आयत भएको जानकारी दिँदै प्रवक्ता सुवेदीले दैनिक औसत एक लाख ३२ हजार सिलिण्डर बजारीकरण भइरहेको स्पष्ट पारे।
नेपाल आयल निगमका अनुसार विगतमा दैनिक एक लाख १० हजार सिलिन्डर बजारीकरण हुने गरेको थियो। यही साउन २६ गते मात्रै १३४ बुलेट ग्यास आयत भएको थियो।
बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिए।
हाल नियमित रूपमा मासिक ४९ हजार ५०० मेट्रिकटन ग्यास आपूर्ति भइरहेकामा तीन महिनाका लागि ६० हजार मेट्रिकटन पुर्याइदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको उनको भनाइ छ।
प्रकाशित: २९ श्रावण २०८३ १८:१० शुक्रबार

