युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयमै सम्पन्न गर्न निर्देशन दिएको छ।
गन्तव्य मुलुकस्थित नेपाली नियोगमा मागपत्र प्रमाणीकरण गर्न समय लाग्ने तथा प्रमाणीकरणका लागि अपुग कागजातको जानकारी एकै पटक नदिँदा रोजगारदाता कम्पनीले झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार भदौ २६ गते मन्त्रीस्तरीय निर्णय गर्दै मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात र प्रमाणीकरण प्रक्रियामा लाग्ने समयसीमा प्रचलित कानुनअनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
निर्देशनअनुसार गन्तव्य मुलुकमा रहेको रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा थप आवश्यक पर्ने कागजात भए त्यसको एकमुष्ट जानकारी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, प्रचलित कानुनबमोजिम मागपत्र प्रमाणीकरणका लागि तोकिएको समयसीमाभित्रै प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन पनि नियोगहरूलाई निर्देशन दिइएको छ।
मन्त्रालयले उक्त निर्देशन परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगमा पठाएको जनाएको छ।
प्रकाशित: २८ भाद्र २०८३ ०७:१४ आइतबार

