ताप्लेजुङका युवा अगुवा, निर्माण व्यवसायी तथा विभिन्न सरोकारवालाले पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारसहित जिल्लामा सञ्चालित विकास आयोजनाहरू उच्च मनोबलका साथ अघि बढाउने वातावरण मिलाउन नेपाल सरकारसमक्ष माग गरेका छन्।
बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै उनीहरूले केवलकार, जलविद्युत आयोजना, प्रसारण लाइन, उद्योग व्यवसाय तथा अन्य विकास निर्माणमा संलग्न लगानीकर्ता र निर्माणकर्ताको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका हुन्।
ज्ञापनपत्रमा पाँच जना अगुवाले हस्ताक्षर गरेका छन् भने समर्थनस्वरूप संकलित हस्ताक्षरसमेत संलग्न गरिएको ताप्लेजुङ विकासप्रेमी युवा समाजका संयोजक प्रकाश मादेनले जानकारी दिए।
ज्ञापनपत्रमा प्रकाश मादेनसँगै निर्माण व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङ, उपाध्यक्ष इन्द्र केदेम, जेन जी ताप्लेजुङका संयोजक गोपाल गुरागाईं तथा युवा अगुवा सागर लामगादेले हस्ताक्षर गरेका छन्।
उनीहरूले ११ किलोमिटर दूरीको सुकेटार–काफ्लेपाटी सडक खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य छिटो सम्पन्न गराउन आवश्यक समन्वय र निर्देशन दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
ज्ञापनपत्रमा पाथीभरा (मुक्कुमलुङ) क्षेत्र धर्म, संस्कृति र आस्थाको केन्द्र भएको उल्लेख गर्दै केवलकार परियोजना स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, धार्मिक तथा सांस्कृतिक संस्था, उद्योगी व्यवसायी र निजी क्षेत्रकै मागअनुसार अघि बढाइएको स्मरण गराइएको छ।
स्थानीयको आग्रहमा निजी क्षेत्रले अनुमति लिएर निर्माण कार्य अघि बढाइरहेको जनाउँदै केवलकार आयोजना शीघ्र सम्पन्न होस् भन्ने आम अपेक्षा रहेको पनि उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा राष्ट्रिय प्राथमिकताप्राप्त पाथीभरा (मुक्कुमलुङ) केवलकार आयोजनाले धार्मिक पर्यटकलाई सहजता प्रदान गर्नुका साथै जिल्लामा निजी लगानीमार्फत थप पर्यटन पूर्वाधार भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
केवलकार सञ्चालनमा आएपछि पाथीभरा क्षेत्रमा आउने लाखौं पर्यटकमार्फत जिल्लाको आर्थिक गतिविधि बढ्ने, रोजगारी सिर्जना हुने तथा समग्र अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १७ वैशाख २०८३ १९:४३ बिहीबार





