२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सफल युवा व्यवसायी भन्छन्ः युवा पलायन रोक्न सार्थक पहल जरुरी छ

चार्टर एकाउन्टेन्ट संजोगको अनुभव: मलाई चिया पसलले सफल व्यवसायी बनायो

तस्बिर : चुमन बस्नेत/नागरिक

नेपाल रिपब्लिक मिडिया लिमिटेडकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले युवा र महिला उद्यमीलाई प्रेरणा दिँदै देशमै अवसर सिर्जना गरी युवा पलायन रोक्न सार्थक पहल जरुरी रहेको बताएकी छन्। 

नेपाल युवा उद्यमी मञ्च सुनसरीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार मोरङको विराटचोकमा आयोजना गरेको  ‘युथ टक सेरिज’ मा उनले आत्मविश्वास, जीवनमा सन्तुलन र दीर्घकालीन दृष्टिकोणका साथ देशको भविष्य निर्माणमा युवाको भूमिका महत्त्वपूर्ण हुने बताइन् । 

रिपब्लिक मिडिया कम्पनीमा परिणत हुँदा आफू ३२ वर्षको मात्र रहेको चर्चा गर्दै ज्ञवालीले सामाजिक मान्यताभन्दा फरक देखिनुको चुनौती सामना गरेको अनुभव सुनाइन्। ‘धेरैले मलाई विश्वास गरेनन् किनभने म फरक देखिन्छु,’ उनले भनिन् । आत्मविश्वासका साथ अगाडि बढ्न र आमा, पत्नी, बुहारी र उद्यमीजस्ता बहुआयामिक भूमिकामा सन्तुलन कायम गर्नुपर्नेमा उनको जोड थियो। 

‘अरूको नकारात्मक कुरामा विश्वास गरेर आफ्नो पूर्ण क्षमता गुमाउनुहुन्न,’ उनले थपिन्। उनले हरेक संघर्षले व्यक्तिलाई अर्को चुनौतीको लागि तयार गर्ने बताइन्। ‘मैले सोचेको थिएँ, म कम्पनीको सञ्चालनबाट बाहिरिन्छु, तर म अझै प्रबन्ध निर्देशक छु र नवीन तरिकाले अगाडि बढिरहेकी छु,’ उनले भनिन्। कोरोना महामारी र लकडाउनमा मिडिया सञ्चालनको चुनौती सामना गर्दै विज्ञापन र आम्दानी बिना पनि धैर्यतापूर्वक काम गरेको उनले स्मरण गरिन्। ‘चुनौती आउँछन्, तर मानसिक रूपमा तयार भएर दृढताका साथ अगाडि बढ्दा १० गुणा बढी उपलब्धि हासिल गर्न सकिन्छ,’ उनले भनिन्।

प्रबन्ध निर्देशक ज्ञवालीले ‘कपी-पेस्ट’ र ‘हस्सल’ मानसिकताबाट माथि उठेर दीर्घकालीन संस्था निर्माण गर्न र देशको भविष्यबारे सोच्न युवा पुस्तालाई आग्रह पनि गरिन्। ‘हाम्रो पुस्ताले रोकिनुपर्छ, चिन्तन गर्नुपर्छ र हामी कस्तो देश बनाउन चाहन्छौँ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भनिन्। युवा पलायनको समस्यालाई सम्बोधन गर्दै उनले भनिन्, ‘युवा विदेशिए भन्ने गरिन्छ, तर देशमै रोक्न सार्थक पहल, रोजगारी र अवसर सिर्जना भएको छैन।’ सामाजिक सञ्जाल र अभिव्यक्ति स्वतन्त्रताबारे उनले केही प्रावधानप्रति असहमति जनाउँदै जिम्मेवार स्वतन्त्रताको जरुरत रहेको उल्लेख गरिन्।

तस्बिर : चुमन बस्नेत/नागरिक

उनले हरेकले आफूलाई प्राथमिकता दिनुपर्ने बताइन्। समाजलाई के दिने भनेर पीर नगरी आफ्नो ठाउँमा उत्कृष्ट बन्नुपर्ने सुझाव दिइन्। हरेक व्यक्ति आफ्नो उत्कृष्ट संस्करण बनेर अगाडि बढ्नुपर्ने तर्क उनको छ। कहिलेकाँही ज्यादा महत्वाकांक्षी हुँदा निराशा आउने भए पनि रोकिन नहुने सन्देश छ।

प्यानलिस्ट संजोग कोइरालाले कामलाई सानो ठूलो नभनी आफ्नो लक्ष्यलाई ध्यानमा राखेर प्रयास जारी राखे सफलता निश्चित रहेको धारणा राखे। कोइरालाले आफूले चार्टर एकाउन्टेन्ट पढेर घरमा चिया पसल गर्ने कुरा गर्दा घरपरिवारले रोकेको स्मरण गरे। उनले भने, ‘चार्टर एकाउन्टेन्ट पढेर चिया पसल गर्ने कुरा गर्न लाज लाग्दैन भन्दै घरपरिवारले गाली गरे,’ उनले भने, ‘तर, अहिले त्यही चिया पसलले मलाई सफल उद्यमीका रूपमा चिनाइरहेको छ।’ कोइरालाले आफूले खोलेको चिया पसल ‘चिया अड्डा’ का रूपमा स्थापित भएको बताए। कोइरालाले सबैको कुरा सुने पनि काम भने आफ्नो गर्न आग्रह गरे। उनले भने, ‘सुन्नु सबैको, काम गर्नु आफ्नो।’ 

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयस प्याकुरेलले सफलता सबैले देख्ने तर, त्यसका लागि गरेको संघर्ष कसैले नदेख्ने गरेको बताए। उनले मेहनत नगरी सफलता प्राप्त नहुने भन्दै मेहनत गर्न युवालाई आग्रह गरे। प्याकुरेलले भने, ‘संघर्ष नगरी सफल हुने कुरा चिठ्ठा परे मात्रै सम्भव छ, नभए सम्भव छैन।’ यो गर्ने, त्यो गर्ने भन्दै कामका विषयमा सोच्ने मात्रै नभई काम थालिहाल्न र कामप्रति लगनशील हुन युवालाई प्याकुरेलले आग्रह गरे।  

अर्का प्यानलिस्ट तथा पर्यटन व्यवसायी डा. दिनेश प्रसाईले नेपाली समाज खुला समाज भएकाले यहाँ काम गर्ने थुप्रै अवसर र सम्भावना रहेको बताए। उनले युवालाई परिवर्तनमा लाग्न आग्रह गरे। डा. प्रसाईले नेपालको राजनीतिलाई पनि परिवर्तन जरुरी रहेको बताए। 

विगत ३० वर्षयता मुख्य तीनवटा पार्टीका तीन जना नेता पालैपालो प्रधानमन्त्री हुने तर, केही काम नगर्ने प्रवृत्ति राजनीतिमा हाबी भएको धारणा राखे। उनले एउटै पार्टी भए पनि व्यक्ति फरक भए त्यसले परिवर्तनको नेतृत्व गर्न सक्ने भएकाले राजनीतिक नेतृत्व परिवर्तनका लागि लाग्न युवालाई आग्रह गरे।  

नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुदिप घिमिरेले युवा समाजको सम्पत्ति भएकाले उचित व्यवस्थापन आवश्यक रहेको धारणा राखे। ‘युवा अवसर, सम्भावना र परिवर्तनको बहाक हुन्,’ ‘तर, उचित व्यवस्थापन गर्न नसके चुनौतीका रूपमा पनि देखा पर्न सक्छन्।’ 

युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष राजीव घिमिरेले युवा दिवसका अवसरमा युवालाई नयाँ कामका लागि उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी र कार्यक्रममा उपस्थित युवाले प्यानलिस्टलाई जिज्ञासा राखेका थिए। कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवा उद्यमी, कलेजका शिक्षकलगायतको उपस्थिति थियो।

तस्बिर : चुमन बस्नेत/नागरिक
तस्बिर : चुमन बस्नेत/नागरिक
तस्बिर : चुमन बस्नेत/नागरिक
तस्बिर : चुमन बस्नेत/नागरिक
तस्बिर : चुमन बस्नेत/नागरिक
तस्बिर : चुमन बस्नेत/नागरिक
तस्बिर : चुमन बस्नेत/नागरिक

प्रकाशित: २८ श्रावण २०८२ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App