पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा गाउँगाउँ र चोकचोकमा पुगेर चुनावी भाषण गर्थे, ‘पोखराका सडक भत्किएको २४ घण्टाभित्र पुर्छु।’ उनले यो प्रतिबद्धता चुनावी घोषणापत्रमा समेत उल्लेख गरेका थिए। निर्वाचित भएलगत्तै पनि उनले आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सडक भत्किएको २४ घण्टाभित्र पुर्ने र त्यसका लागि छुट्टै संयन्त्र बनाउने बताएका थिए।
तर, चुनाव जितेर मेयर भएको करिब साढे चार वर्ष बितिसक्दा पनि उनले भनेजस्तो २४ घण्टाभित्र सडक पुर्ने काम हुन सकेको छैन। सडक पुर्नका लागि छुट्टै संयन्त्र पनि बनेको छैन। बरु, उनको प्रतिबद्धताविपरीत पोखराका अधिकांश सडकमा खाल्डाखुल्डी देखिन्छन्।
महिनौँसम्म खाल्डाखुल्डी यथावत् रहँदा स्थानीयले सास्ती खेपिरहेका छन्। कतिपय व्यक्ति दुर्घटनामा परेका छन् भने सडकको अवस्थाले यात्रुको ज्यानसमेत जोखिममा पर्ने गरेको छ।
पोखरा–५ पस्र्याङदेखि पोखरा–४ गोपालजी मन्दिरसम्मको सडक होस् वा पोखराको मुख्य क्षेत्रमध्येको एक सृजनाचोकदेखि सिद्धार्थचोकसम्मको सडक, जताततै सडकको अवस्था जीर्ण छ। यी सडकमा सहज रूपमा हिँड्नसमेत कठिन छ।
पृथ्वी राजमार्गको वैकल्पिक बाटोका रूपमा लिइएको पोखरा–१३ मियापाटनदेखि पोखरा–१४ विजयपुर निस्किने सडक जीर्ण भएको पनि वर्षौं भइसकेको छ। सडक पिचभन्दा खाल्डाखुल्डी बढी रहेको र पाँच वर्षदेखि सास्ती खेप्नुपरेको स्थानीय खगेन्द्र अर्याल बताउँछन्।
‘महानगरको क्षेत्राधिकारमा पर्ने यो बाटो सडक विभागको हो भन्दै महानगर पन्छिँदा वर्षौँसम्म दुःख पाइयो,’ उनले भने।
प्रशासनिक कार्यालय र मन्त्रालयहरूको बाहुल्यता रहेको सहिदचोकदेखि भूमि प्रशासन कार्यालयसम्मको सडक पनि महिनौँदेखि जीर्ण छ। जिल्ला प्रशासन कार्यालयसँगै जोडिएर जाने यो सडकमा जिल्ला समन्वय समिति, गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, सहकारी डिभिजन कार्यालय, हुलाक निर्देशनालय हुँदै भूमि प्रशासन कार्यालय र लेकसाइड निस्किने सडक पर्छ।
तर, यो सडकमा पिचभन्दा खाल्डाखुल्डी बढी देखिन्छन्। हिउँदमा धुलाम्मे र बर्खामा जलमग्न हुने यो सडकमा दुर्घटना नभएको दिन कमै हुने स्थानीयको गुनासो छ। यद्यपि, सडक मर्मतमा महानगरले पर्याप्त चासो नदिएको उनीहरूको आरोप छ।
सडकमा हिँड्नै नसक्ने अवस्था आएपछि स्थानीयले महानगरको आलोचना गर्न थालेका छन्। मेयर आचार्यले सडक २४ घण्टामै पुर्ने प्रतिबद्धता बिर्सिएको भन्दै उनीहरू आक्रोशित छन्।
यही अवस्थालाई देखाउँदै ‘मिस्टर म्यान’ उपनामले चिनिने एक व्यक्ति अहिले सडक पुर्दै हिँड्न थालेका छन्। भत्किएको सडकमा माटो हालेर पुर्दै हिँड्ने उनको गतिविधि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल महानगर जवाफदेही नबन्दा सडक जीर्ण बनेको र त्यसकै कारण दुर्घटनाको जोखिम बढेको बताउँछन्।
‘आफ्नो चुनावी प्रतिबद्धता मेयरले बिर्सिए,’ उनले भने, ‘अहिले आफ्नै प्रतिबद्धताविपरीत सडकलाई दोष देखाएर मेयर पानीमाथिको ओभानो बन्न खोज्दैछन्।’
जीर्ण सडकको मर्मतसम्भार नहुनुमा सडक विभागसँगै महानगर पनि उत्तिकै जिम्मेवार रहेको उनको टिप्पणी छ।
‘सडकलाई देखाएर उम्किन मिल्दैन,’ उनले भने, ‘महानगरलाई जवाफदेही र उत्तरदायी बनाउनुपर्छ। खाल्डाखुल्डी पुर्न महानगर एक्सनमा जानुपर्यो।’
मेयर आचार्य भने खाल्डाखुल्डी पुर्ने काम भइरहेको दाबी गर्छन्। ‘हिजो पनि भइरहेकै थियो,’ उनले भने, ‘आज पनि ठेक्कामा गएर पुर्ने काम भइरहेकै छ।’
तर, पोखरामा धेरै पानी पर्ने भएकाले आज पुरेको सडक भोलि नै उस्तै हुने उनको तर्क छ। ‘आज पुर्यो, भोलि उस्तै हुन्छ त के गर्नु ?’ उनले भने।
आफूले गरेको प्रतिबद्धताअनुसार भत्किएका सडक २४ घण्टाभित्र नपुरिनुमा सडक विभाग पनि दोषी रहेको उनले बताए।
‘खोज्दैखोज्दै जाने हो भने सडक कसको क्षेत्राधिकारभित्र छ भन्ने पनि छ,’ उनले भने, ‘पोखराका सिंगो सडक क्षेत्र सडक विभागको हो। त्यहाँ हामीले केही गर्न पनि मिल्दैन। यसमा हाम्रा पीडाहरू पनि छन्।’
त्यसैले सडक पुर्ने काम महानगरको नभई सडक विभागको भएको उनको जिकिर छ।
भत्किएको सडकमा माटो ल्याएर हाल्ने कामप्रति भने उनले व्यङ्ग्य गरे। ‘त्यसरी पुर्दा हुने भए त हामी आरएमसी ल्याएर चार घण्टामै भत्किएका सडक पुरिदिन्थ्यौँ,’ उनले भने, ‘त्यो हामीले नजानेर र नसकेर हो र ? तर त्यसरी पुर्दा चिप्लिएर एक्सिडेन्ट हुन्छ। विज्ञ त्यही भन्नुहुन्छ, इन्जिनियर त्यही भन्नुहुन्छ।’
प्रकाशित: ६ आश्विन २०८३ २१:१३ मंगलबार





