जुम्लाका फाँट यतिबेला पहेंलपुर छन्। लहलह धानले ढाकिएका खेतमा पाक्दै गरेको बालीले चाडपर्व र पर्यटकलाई स्वागत गरिरहेको झैं देखिन्छ। चन्दननाथ र आसपासका किसान धान काट्ने तयारीमा छन्। जुम्लाको पहिचान बनेको काली मार्सीसँगै यस वर्ष किसानले लेकाली जातको धानसमेत रोपेका छन्।
जुम्ला काली मार्सी धान उत्पादन हुने प्रमुख क्षेत्रका रूपमा देशभर परिचित छ। पछिल्लो समय जुम्ला पुग्ने आन्तरिक पर्यटकले मार्सी चामल नलिई फर्किन गाह्रो मान्न थालेका छन्। स्थानीय बजारदेखि काठमाडौंसम्म मार्सी चामलको माग बढ्दो छ। कृषि विज्ञका अनुसार चिसो हावापानीमा उत्पादन हुने मार्सी स्वाद र पोषणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यसको चामल खैरो रङको हुन्छ, जसलाई कतिपयले रातो चामल पनि भन्ने गरेका छन्।
मार्सीको चर्चा अहिले उत्पादन र बजारमा मात्र सीमित छैन। यसको इतिहास करिब सात सय वर्ष पुरानो मानिन्छ। जुम्लाका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ बाबाले काश्मीरबाट धानको बीउ ल्याएर जुम्लामा खेती सुरु गरेको विश्वास छ। त्यसैले काली मार्सी जुम्लीको कृषि उत्पादन मात्र नभई धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवसँग जोडिएको छ।
जुम्लामा धान खेती कहिलेदेखि सुरु भयो भन्ने यकिन प्रमाण नभए पनि चन्दननाथ बाबाले धानखेतीको सुरुवात गरेको उल्लेख जुम्लेश्वर वंशावलीमा रहेको जानकारहरू बताउँछन्। वंशावलीमा चन्दननाथ देवताले धानको बीउ ल्याएर गाउँमा बस्ता गुरु चन्दननाथ सिद्धिले धानको बीउ दिएको उल्लेख छ। इतिहासका अध्येताहरूका अनुसार सयौं वर्षअघि काठमाडौंका राणा तथा शाह खलकका शासकले समेत जुम्लाबाट मार्सी चामल मगाउने गरेका थिए।
राणाकालमा त महिनौं लगाएर हुलाकमार्फत जुम्लाबाट काठमाडौंसम्म मार्सी चामल पुर्याइन्थ्यो। त्यो चामल राणा शासकको भान्सासम्म पुग्थ्यो। बाटोमा चामल रोकिए वा दरबारमा नपुगे राज्यका तर्फबाटै खोजी हुने गरेको इतिहास रहेको अध्येताहरू बताउँछन्।
मार्सीको यही ऐतिहासिक पहिचानलाई आधुनिक कृषि अनुसन्धानले पनि पुष्टि गरेको छ। २०२७ सालमा जुम्लामा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बीउमा अनुसन्धान गरेको थियो। अनुसन्धानपछि जुम्लाको हावापानी र भूगोलमा काली मार्सी सबैभन्दा उपयुक्त रहेको निष्कर्ष निकालिएको थियो।
तर जुम्लामा अहिले मार्सीसँगै अन्य उन्नत जातका धानको खेती पनि विस्तार भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयले काली मार्सीलाई जुम्लाको पहिचानका रूपमा संरक्षण गर्दै लेकालीलगायत उन्नत जातका धान खेती विस्तारमा जोड दिएको छ।
कृषि कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा मार्सीसँगै चन्दननाथ-१, चन्दननाथ-३, लेकाली-१ र लेकाली-३ जातका धान रोपिन्छन्। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ-१ र चन्दननाथ-३ सिफारिस गरिसकेको छ। मार्सी-१८, मार्सी-२० र मार्सी-२२ भने परीक्षणको चरणमा छन्।
समुद्री सतहदेखि करिब तीन हजार ५० मिटर उचाइमा उत्पादन हुने मार्सी धानको स्वाद र पोषणका कारण बजारमा माग बढेको अधिकारी बताउँछन्। उनका अनुसार जुम्ली मार्सी चामलबाट वार्षिक करिब तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ।
यसको खेती क्षेत्र भने करिब दुई हजार ८८ हेक्टरमा सीमित छ।हाल जुम्ली मार्सी चामल प्रतिकिलो करिब एक सय ८० रुपैयाँमा बिक्री हुँदै आएको छ। सीमित उत्पादन र बढ्दो मागका कारण यसको बजार मूल्यसमेत आकर्षक बन्दै गएको छ।
प्रकाशित: २३ आश्विन २०८३ ०७:५५ शुक्रबार





