त्रियुगा नगरपालिका १ जोगीदहस्थित मैनाहाको खोरिया खोलाबाट बचाउन श्रमदानमा बाँध निर्माण भइरहेको छ। खोलाको कटान र डुबानबाट स्थानीयलाई बचाउने उद्देश्यले नेकपा (माओवादी केन्द्र) को युवा जमात योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले बाँध निर्माण थालेको हो।
खोरिया खोलाको कटान र डुबानको उच्च जोखिममा परेका जोगीदह मैनाहास्थित राईटोलमा बसोबास गर्दै आएका ६५ घरधुरी परिवारलाई बचाउन वाईसिएलले बाँध निर्माण गर्न थालेको हो। शनिबार बिहानदेखि श्रमदानमा खटेको वाईसिएलको टोलीले आइतबार बिहानसम्म ३ सय ७० मिटर बाँध निर्माण गरेको छ। स्थानीय गोधुली युवा समूहको आह्वानमा वाईसिएलका उदयपुर इन्चार्ज ज्ञानेन्द्र मगरको नेतृत्वमा सदरमुकाम गाईघाटबाट गएको युवाहरूको जमातले बाँध निर्माण गरिरहेको हो।
वाईसिएलका जिल्ला कमिटी सचिव ईश्वर साम्पाङ राईका अनुसार माओवादी त्रियुगा नगर कमिटी इन्चार्ज विमल किरातीसमेतको युवा टोलीले शनिबार बिहानदेखि श्रमदानमा बाँध निर्माण गरिरहेको छ। वाईसिएलका युवाहरूलाई गोधुली युवा समूहमा आबद्ध मैनाहाका युवायुवती र गाउँलेले साथ दिइरहेका छन्। खाली बोरामा बालुवा भरेर बाँध निर्माण गरी त्यसमाथि बिरुवा रोप्दै जैविक प्रविधिको बाँध निर्माण गर्ने योजना रहेको सचिव राईले बताए।
शनिबार दिनभर श्रमदान गर्दा काम नसकिएपछि आइतबार पनि साँझसम्मै टोलीले काम गरिरहेको छ। तर, आइतबार पनि काम नसकिए अर्को शनिबार पनि यही टोलीले श्रमदान गरी बाँध निर्माण सकेरै छाड्ने अठोट वाईसिएलले लिएको छ। सो ठाउँमा ७ सय ५० मिटर बाँध निर्माण गर्नुपर्ने आवश्यकता रहेको वाईसिएल त्रियुगा नगर कमिटीले जनाएको छ।
माओवादीले वाईसिएललाई श्रमदान अभियानमा जोड्दै देशव्यापी उत्पादनमा लाग्न निर्देशन दिएको छ। जसअनुसार साउनको पहिलो शनिबारदेखि वाईसिएलले श्रमदान अभियान थालेको हो। सदरमुकाममा पहिलो शनिबार गाईघाटस्थित थरुहट रङ्गशालास्थित फुटबल खेल मैदान वरिपरि पुरिएको नाली खोल्नुका साथै खेल मैदानभरि उम्रिएको, पलाएको झार र बुट्यान काटेर सरसफाइ गरेको थियो। त्यसको भोलिपल्ट त्रियुगा नगरपालिका १४, १५ र १६ नं. वडाको सीमाक्षेत्रमा निर्माणाधीन हिलस्टेशन स्थानको भगवती मन्दिर परिसर सरसफाइ गरेको थियो।
दोस्रो शनिबार खोरिया खोलाको बाँध निर्माणमा लागेको वाईसिएलले त्यहाँ काम सम्पन्न भएपछि अन्य सार्वजनिक स्थलहरूमा श्रमदान अभियानमा लाग्ने गरी थुप्रै स्थानहरू तय गरिसकेको छ। पार्टीको निर्देशनअनुसार देशव्यापी श्रमदान अभियानमा लागेको वाईसिएलले जिल्लाका कटारी, चौदण्डीगढी, बेलका नगरपालिकाका साथै उदयपुरगढी, रौतामाई, लिमचुङबुङ र ताप्ली गाउँपालिकामा पनि श्रमदान अभियान चलाइरहेको इन्चार्ज मगरले बताए।
माओवादी त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईका अनुसार श्रमदान अभियानमा खट्ने क्रममा युवाहरू घरीघरी नाचगान गर्ने तथा भोक लागेपछि श्रमदान स्थलमै खाजा र खाना पकाएर खाने गरेका छन्। यसो गर्दा श्रमदान गर्न रमाइलो लाग्ने, मनोरञ्जन र ताजगी आउने तथा सामूहिक काम गर्न थप रुचि बढ्ने गरेको अध्यक्ष राईले बताए।
प्रकाशित: ११ श्रावण २०८२ १७:०० आइतबार





