गत भदौ १० गते रसुवाको टिमुरेको बगरबाट उद्धार भएकी बालिकाको स्वास्थ्यमा सुधार हुँदै गएको छ। तर, आकाशबाट पानी पर्न थालेपछि उनी असाध्यै तर्सिन्छिन्।
उनकी आमा गीता उचाइ मगरले बताएअनुसार पानी परेको समय बाटो वा गाडीभित्र छन् भने रुन्छिन् र छिटो घर जान भन्दै कराउछिन्। सँगै हुनेको हात समाउँछिन् र चाँडो जान आग्रह गर्छिन्।
‘पानी परेको बेला घरबाहिर निस्कनै मान्दिनन्,अस्ति पानी पर्दा नानी अस्पताल जान मानिनन्’ गीताले भनिन्।
घरभित्र हुँदा पानी पर्यो भने बाढी आउँछ भन्ने, आत्तिने र झ्याल–ढोका बन्द गरेर मात्र बस्ने गरेको आमा गीताले सुनाइन्। ‘पानी पर्यो कि बाढी आउँछ, छिटो घर जाऊँ भन्छिन्’,उनले भनिन्।
पानी परेको समय थप उपचारका लागि अस्पताल जान नमानेपछि निर्मलाले पानी रोकिएपछि सोमबार मात्र अस्पताल लगेकी थिइन्। तर, काठमाडौंको महारागजञ्जमा रहेको टिचिङ अस्पतालमा उनको पालो नआएपछि मंगलबार नजिकैको तारकेश्वरस्थित एक अस्पतालमा उपचार गराइन्।
अहिले मनीषाको हातको पट्टी फुकाइएको छ। बाढीले हात बाङ्गो बनाएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन्।
यसको साथै चिसो मौसम भयो कि अहिले पनि मनीषा बिरामी पर्छिन्। न्यानोमा राख्यो भने मात्र उनलाई सहज महसुस हुने गरेको उनकी आमा गीताको भनाइ छ।
उद्धारपछि मनीषाको टिचिङमा उपचार भएको थियो। ७२ घण्टासम्म माटोमुनि रहेका कारण उनमा श्वास–प्रश्वासको समस्या र शरीरमा चोटपटक लागेको थियो। केही दिनको उपचारपछि उनी डिस्चार्ज भइन्। तर पनि पूर्णरुपमा ठीक नभएकाले उनलाई फलोअपका लागि अस्पताल पुर्याइरहनु परेको छ।
अहिले पनि मनीषाको उपचार पूर्ण रूपमा नसकिएको गीता बताउँछिन्।
बाढीपछि गीता र उनका पति दुवै रोजगारीमा छैनन्। थप दुइवटी छोरी घरमा रहेका र कान्छी छोरीको उपचारका लागि काठमाडौंमा बसिरहेकोले आर्थिक समस्या पर्न थालेको उनले बताइन्।
बीचमा आफूले काम गरिरहेको गरुड कम्पनीले रासन पानी र कोठा भाडा व्यवस्था गरे पनि परिवारको अन्य खर्चको हिसाबले पर्याप्त नभएको उनले बताइन्।
प्रकाशित: १३ आश्विन २०८३ १८:११ मंगलबार



-600x400.jpg)

