२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बाढीले अवरुद्ध मनास्लु पदमार्ग खुल्यो

मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनःसञ्चालनमा ल्याएका छन्।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर पदमार्ग पुनःसञ्चालनमा ल्याइएको हो।

चुमनुब्री गाउँपालिका–४ वडाअध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार नाम्रुङस्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो।

यस्तै सुक्समको झोलुङ्गे पुल पनि बूढीगण्डकीको बाढीले बगाएको थियो। सुक्सममा पहिरोले बाटो बगाएपछि आवतजावत बन्द भएको थियो।

अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाएर आवतजावत खुलाइएको वडाअध्यक्ष लामाले बताए।

‘थेराङमा फड्के बनाएपछि त्यहाँ बाटो खुलिसकेको छ’, उनले भने, ‘सोमबार र मङ्गलबार सुक्सममाथि वैकल्पिक बाटो खनेर सुरङ खोलामाथि फड्को बनाएर अस्थायी आवतजावत खुलाएका छौँ।

’काठको मुढा तेस्र्याएर दुइतर्फी बार लगाएको फड्के निर्माण गरिएको वडाध्यक्ष लामा बताउछन्। सुराङको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ निस्कने वैकल्पिक बाटो निर्माण भएको छ।

आइतबार बिहान थेराङ खोलामा गएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् र एक पुल बगाएको थियो।

साथै, सोही बाढीले बूढीगण्डकीको बहाव बढ्न गई सुक्समस्थित झोलुङ्गे पुल बगाएको र पहिरोसमेत झरेपछि मनास्लु पदमार्ग अवरुद्ध बनेको थियो। 

प्रकाशित: २४ भाद्र २०८३ १८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App